एमालेका अधिकांश पदाधिकारी मतगणनामा निकै पछि,दुई जनालाई मात्र अग्रता

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको जारी मतपरिणाम अनुसार नेकपा एमालेका कोर टिम मानिने पदाधिकारीहरू विभिन्न निर्वाचन क्षेत्रमा पछि परेका छन्। निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये १२३ क्षेत्रको मतगणना जारी छ।

एमालेले अध्यक्ष केपी शर्मा ओलीसहितका १० पदाधिकारीलाई प्रतिनिधि सभा चुनावमा उठाएको थियो।उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ र सचिव भानुभक्त ढकालबाहेक अध्यक्ष ओलीसहितका अन्य बाँकी पदाधिकारी निकै पछि परेका छन्।

झापा ५ मा उम्मेदवार रहेका अध्यक्ष केपी शर्मा ओली रास्वपाका बालेन्द्र शाहसँग निकै पछि परेका छन्।यद्यपि, यो अन्तिम परिणाम भने होइन किनकि, सो क्षेत्रमा ६५ प्रतिशत मत खसेको छ।

यस्तै, उपाध्यक्ष विष्णु पौडेल पनि रुपन्देही २ मा रास्वपाका सुलभ खरेलसँग धेरै मतले पछि परेको आयोगले जनाएको छ।उता, लमजुङबाट उठेका अर्का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ भने सुरुवाती मतगणनामा चार सय मतले अघि छन्।

उनले कांग्रेसका गमबहादुर गुरुङ भन्दा चारसय मतले अग्रता लिएका छन्।

यसैगरी, अर्का उपाध्यक्ष गोकर्ण विष्ट पनि रास्वपाकै उम्मेदवारसँग पछि परेका छन्। एमालेले यसपटक उपाध्यक्षहरू रामबहादुर थापालाई समानुपातिक सूचिमा राखेको छ। रघुजी पन्त दुवैतर्फ उम्मेदवार थिएनन्।

यसैगरी, महासचिव शंकर पोखरेल पनि दाङ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवारसँग पछि परेका छन्।एमालेका तीन जना उपमहासचिवमध्ये दुईजनालाई उम्मेदवार बनाएको थियो। योगेश भट्टराईलाई एमालेले टिकट दिएको थिएन्।

धनुषा ४ मा उम्मेदवार रहेका उपमहासचिव रघुवीर महासेठ प्रारम्भिक मतगणनामा रास्वपाका राजकिशोर महतोसँग पछि परेका छन्। उनी तेस्रो स्थानमा छन्।यस्तै, अर्का उपमहासचिव लेखराज भट्टको कैलाली ४ मा मतगणना परिणाम आयोगले सार्वजनिक गरिसकेको छैन।

एमाले उम्मेदवार बनाएका सचिवहरूमध्ये भक्तपुर क्षेत्र नम्बर २ मा महेश बस्नेत दोब्बर मतले रास्वपाका उम्मेदवारसँग पछि परेका छन्। यस्तै, अर्का सचिव राजन भट्टराई काठमाडौँ क्षेत्र नम्बर ४ मा रास्वपाका पुकार बमसँग पछि परेका छन्। सो क्षेत्रमा उनी सो क्षेत्रमा तेस्रो स्थानमा छन्।

यसैगरी भोजपुरबाट उम्मेदवार रहेका एमालेका अर्का सचिव शेरधन राई पनि श्रम संस्कृति पार्टीका उम्मेदवारसँग पछि परेका छन्।

तर, सचिव भानुभक्त ढकालले तेह्रथुममा अग्रता लिएका छन्। यही अग्रता कायम रहे ढकालले जित्न सक्ने सम्भावना देखिन्छ।