स्वतन्त्र जनतामा नम्र अनुरोध

फाइल तस्वीर

सुधार तथा परिवर्तनको रहस्य भनेको आफ्नो सम्पूर्ण ऊर्जा पुरानोसँग लड्न होइन, नयाँ निर्माणमा केन्द्रित गर्नु नै आजको प्रमुख आवश्यकता हो – सुकरात

हालको प्रतिनिधि सभा चुनावले जनतामा नया आशा भरोसा जगाइ देश सम्वृद्दिमा नया उत्साह सिर्जना गरेको छ। अव एकल वहुमतको स्थायी पांच वर्षे सरकार वनेर नया नेपाल निर्माण गर्न स्पष्ट जनादेश प्राप्त भएपनि देशको शासन प्रणाली, जनतालाई दिने सेवा, कृषिजन्य वस्तुको उत्पादन वितरण ,पर्यटनमैत्री वातावरण, वैदेशिक रोजगार तथा रेमिट्यान्सको प्रभाव र शान्ति सुरक्षामा दीर्घकालिन योजनाका साथ प्रभावकारी रुपमा कार्यान्वयन नवनाएसम्म देशको भविष्य अन्यौल नै हुन्छ।

अव सम्वृद्दिको नया गन्तव्यमा अघि वढ्दा पुराना विरुद्ध प्रतिशोध वा व्यक्तिगत बदलाको भावना चटक्कै भुलेर प्रणालीगत सुधारतर्फ अगाडि वढ्नु नै आजको आवश्यकता हो । सुशासन र भ्रष्टाचारमुक्त अभियान संसारको सवै स्थापित पार्टिहरुको साझा एजेण्डा हो, यसमा प्रचारवाजी भन्दा यथाशिघ्र नतिजा देखाउनु आजको यथार्थ हो ।

विरोधि सकाएर एकल नेतृत्व लिएर यथास्थितिमा सुधार नगरी शासन गर्ने भए जनतावाट तिरस्कृत नै हुन्छ । प्रजातन्त्रमा जनता नै सर्वोच्च हो तर जनतामा नैतिकता र अनुशासनको मानक कति हुनुपर्छ भन्ने कुरा राज्य व्यवस्थापनले नै निर्धारण गर्नुपर्दछ तसर्थ, प्रचारवाद भन्दा यथार्थ कठिनाई चिर्न जरुरी छ।

ईतिहास अध्ययन गरेर कमिकमजोरी सच्चिएन भने भविष्य जटिल हुन्छ । विगत २०६४मा नेकपा माओवादीको स्पष्ट वहुमत हुदा जनता भन्दा सत्तातर्फ उन्मुख र कर्तव्यविमुख भई अधिकारतर्फ उन्मुख हुदा र विचौलियासंग मित्रता गरि जनतावाट टाढा हुदा तुरुन्त पतन भएको ज्वालन्त उदाहरण ताजा नै छ ।

देशमा उत्पादन न्युन, आयातमा निर्भर हुनुपर्ने वाध्यता र आवश्यक श्रम प्रदान गर्न जनसंख्या वितरण गरी सदुपयोग गर्न विस्तृत अध्ययन गर्नुपर्ने हुन्छ । जनसंख्या वृद्दि हुनु देश विकासको लागी अवसर हो र यसको सदुपयोगवाट नै राष्ट्र सम्वृद्दि हुन्छ । मौलिकता वुझेको दक्ष र स्वस्थ जनशक्ति नै देशको सम्पति हो।

नेपालको समृद्धिको बाटोमा सबैभन्दा ठूलो तगारो राजनीति होइन, बरु यही पुरातन र संकिर्ण सोचको निजामती संयन्त्र हो। जटिल ऐन प्रणालीवाट सिर्जना भएको वेथितिको नियम र अनावश्यक कागजी प्रकृया त्यो पनि ढोकै पिच्छे अल्झाइ जनता प्रताडित गर्ने समस्या यथाशिघ्र नसच्चिए जनताले सुशासन महशुस गर्न अशंभव नै छ।

प्रशासनमा दलिय कर्मचारी र शिक्षामा राजनीतिक चेतना अभिवृद्दि गर्ने शिक्षकहरुले हरेक प्रणालीमै चुनौति थपेको छ । प्रशासनको र मालदार अडिडामा विचौलियाको हरेक क्षेत्रमा मध्यसकर्ताको विगविगि र वजारमा महंगी नियन्त्रण गर्नु अत्याआवश्यक भएको छ ।

अहिलेको दुईतिहाइको सरकारले गर्नुपर्ने पहिलो काम प्रतिशोधको राजनीति होइन, संविधान संशोधन भन्दा सार्वजनिक खरिद ऐन र विविध मन्त्रालयको जटिल ऐन संशोधन गरी आर्थिक समृद्धिको ठोस योजना ल्याउनु हो। तर त्यो योजना कार्यान्वयन गर्न अहिलेको भ्रष्ट र सुस्त कर्मचारीतन्त्रले दिँदैन, त्यसैले यसलाई नयाँ व्यवस्थापन गर्न व्यवहारिक रुपमा अपरिहार्य छ ।वोझिलो कर्मचारीतन्त्रलाई सहज वनाउन दलाल र दलिय संस्कृति’लाई विस्थापित गरि परम्परागत ढर्राको वदला आधुनिक प्रविधिवाट सहज वनाउदै लैजानुपर्छ।

पिच वाटोको विचमा सालको रुख किन? सडक निर्माण पश्चात खानेपानी को पोल किन खनेको ? अर्थले सवै क्षेत्रमा योजनावद्द वजेट किन निकासा नगरेको ? करारको मजदुरले काम गरिरहने र कृषिको हाकिमले कहिल्यै माटो नछुने किन ? विजुलिको तार नहटाइ राजमार्ग किन वनाएको ? विगतमा वेवास्ता भएका यस्ता हजारौ प्रश्नको व्यवहारिक समाधान नगरी देशको कायापलट सम्भव छैन।

आवास योजना खोला र सडक छेउ वाहेक अन्य उत्तम क्षेत्र छनौट गरी स्थानिय स्रोत साधनको सरल मुल्यमा वातावरणमैत्री र भुकम्प प्रतिरोधात्मक वनाइ सहज व्यवस्थापन गर्न नीतिगत तहवाट नै सुधार हुनपर्यो । मालपोत भन्सार प्राधिकरण र यातायातमा जगंवहादुरको दादागिरि रोक्न कठोर कानुन अवलम्वन गर्नैपर्छ ।

नेतृत्व वर्गलाई विना अध्ययन कर्मचारीको लहलहैमा किन हस्ताक्षर गरेको, विचौलियासंग मित्रता किन गांसेको, जनतालाई पदमा हुदा किन तिरस्कार गरेको भनेर प्रश्न गर्न जरुरी छ ।

त्यसैगरी आम नागरिकलाई वाटोमा फोहोर किन फालेको, जेष्ठ नागरिकलाई भीडमा पालो किन नदिएको , सडकमा वायावाट किन सवारी ओभरटेक गरेको ? चोर नेता र भ्रष्टको देश भनेर किन सामाजिक संजाल फोहोर वनाउदै अन्तराष्ट्रिय वेइज्जत गरेको भनेर सोध्न जरुरी छ ।

सुरक्षा तर्फ प्रहरीको काम कर्तव्य जनताको लागी गरिने निस्वार्थ सेवा हो भन्ने भावना जागृत हुन पर्छ । एउटा प्रहरीले राजनीतिको दुरुपयोग गर्दै अवसर खोज्छ भने अर्को पीडित हुने नै गर्छ। दरवार मार्ग, ठमेल, एअरपोर्ट, भन्सार पटक पटक पैसा वुझाइ भ्रष्टवाट संरक्षण हुने सरुवाले असहाय र निर्दोषलाई दुर्गम जान वाध्य वनाउछ।

हाल सुरक्षाको नाममा ढुवानीको साधन ट्रक जिपले क्वारेनटाइन र ओभरलोडको मापदण्डमा अनावस्यक सास्ति भोगेको र छुटकारा पाउन खुलेआम पैसा वुझाउन पर्ने वाध्यता छरपष्ट छ । मोटरसाइकल यात्रा गरिव र निरिहलाई मात्र भनेझै चेकजाच भएको छ । नेपाली सेनाको आधा तालिम घटाएर कृषि तथा राष्ट्रको अन्य उत्पादन कार्यमा लगाउनु पर्ने छ र विपद व्यवस्थापनमा सम्पुर्ण सिपाहीलाई दक्ष वनाउन जरुरी छ ।

सिपाही लडाइ वाहेक अन्य क्षेत्रमा तयारी गर्न ढिलाई भैसकेको छ । तर अहोरात्र खट्टिने सेनालाई निजामति सरह तुलना गर्न हुन्न । आर्थिक भारको मुल्यांकन नगरी सेवा समर्पणको उचित मुल्यांकन गर्न नेपाली सेनाको जागिर अवधि १६ वर्ष वनाउनु सान्दर्भिक हुन्छ र पेन्सन सुविधा पनि सुरक्षा फौजलाई मात्र प्रदान गर्न उपयुक्त हुन्छ।

सुरक्षाफौजलाई अवकाश पश्चात विदेश गएर आम नागरिक सरह रेमिट्यान्स पठाउने अवसर सिर्जना गर्नै पर्छ । तीनै तहको सुरक्षामा प्रमुख विकृति घरकाजमा सिपाही खट्टाउने प्रचलन यथाशिघ्र वन्द गर्नुपर्छ। गरिव देशमा व्यक्तिगत अर्दली प्रथा सामन्त र तानाशाही प्रवृतिको अवशेष हो । यो ५-६ हजारको दक्ष जनशक्ति अर्दलीवाट वुढिगण्डकी जलाशय, सुनकोशि मरिन डाइभर्जन र फास्ट ट्रयाक सडकमा जनशक्ति थपिदिए मात्र पनि मुलुक विकासमा कायापलट हुन्छ र वार्षिक आधा खरव मु्द्रा देशको वचत हुन्छ।

भ्रष्टाचारको जड काट्न कर्मचारीको सम्पत्ति विवरण सार्वजनिक गरिनुपर्छ, कठोर कानुन अवलम्वन गर्नुपर्छ । उनीहरूको जीवनशैली पारदर्शि वनाउन कडा र स्वतन्त्र छानविन हुनपर्छ र विदेशी आयातित वस्तु घटाइ गर्वका साथ स्वदेशि उत्पादन वस्तु प्रयोगमा लिइ प्रोत्साहन गर्नपर्छ ।

अव वन्ने नवसरकारले यो “नयाँ” शव्द केवल एक आदर्श वक्तव्य र शासनमा सीमित गर्ने होइन, सम्पुर्ण राष्ट्रको आगामी भविष्यको सम्वृद्दिको लागी नयाँ उत्कृष्ट स्थायी प्रणाली रच्ने संकल्प पनि हो । ठुला सपना भन्दा जनताले पाउने आधारभुत सेवा प्रदान गर्नु नै शासन व्यवस्थाको प्रमुख जिम्मेवारी हो।

शिक्षामा मौलिकताको संरक्षण गरी पाठनशैलीमा पुनरावलोकन, स्वास्थ्यमा सर्वसुलभ गरी स्थानियको पहुच र भविष्यको सुनिश्चिता, अर्थमा कर व्यवस्थापन र उत्पादन तथा रोजगारिको अवसर, संचारमा जनता सकारात्मक वनाइ शिक्षामुलक समाचार, कृषि वनमा अनुदान वेगर स्थानिय उत्पादन र स्रोतको प्रयोगको सुनिश्चता, रक्षामा जनताको काम गर्ने वातावरण,परिवारको संरक्षण र देशहितको गतिविंधिमा संवेदनशिल हुन जरुरी छ।

अव आउने दिन अधिकारको मनोरन्जन गर्ने भन्दा कर्तव्य पालना गर्नु प्रमुख दायित्व हुन्छ। देशलाई आफुभन्दा माथि राखेर राष्ट्रभक्ति जगाउनु स्वदेशी उत्पादन वस्तु प्रयोग गरेर आत्मनिर्भर वन्नु नै आजको प्रमुख आवस्यकता हो।

समय वलवान, परिवर्तनशिल र कठोर छ । हरेक आन्दोलनले समय कटाएर चेतना त वृद्दि भएको छ तर नेतृत्व अनभिज्ञ र गैर्ह जिम्मेवार हुने, जनता कर्तव्य विमुख भई समाज अराजक हुदा विकासले अपेक्षित गति लिएको छैन । हालको उर्लदो प्रचारवाद र त्यसको सहारामा टिकेको घृणा र गालीगलौजको अभिव्यक्तिमा समयमै सच्चिएर समाज अघि वढेन भने देश जनता कसैको नियन्त्रण हुदैन । विविधताको देशमा असहिष्णुताको राजनीति शोभनिय हुदैन।

समाजमा पात्र जस्तो छ देश त्यस्तै हुने हो तसर्थ जस्तो फल त्यस्तै स्वाद हुन्छ तर गुणस्तर वातावरणले पनि निर्धारण गर्दछ । नेपालको जात, धर्म, भाषा, भेषभुषा धेरै विविधता भएपनि वैदिक सनातन र गौरवशाली इतिहास भएको देशमा हसिलो मन र निस्वार्थ भावनमा समानता हुदा एकता नै वल हो भनेर समाज उदाहरणिय हुन पर्छ ।

नेपालीले नेपालीलाई नै महान देख्नपर्छ ।नेपाल एकिकरणको पिता वडामहाराजधिराज पृथ्वी नारायण शाह प्रति हामी सम्पुर्ण नेपाली जनता कृतज्ञ हुनैपर्छ । उहाको हरेक दिव्य उपदेशको मर्म र सार वुझि व्यवहारमा अनुशरण गर्नैपर्छ । नेपाली सवै हास्नुपर्छ, सवैले विजय प्राप्त गर्नपर्छ। नेपाल चार जात छत्तिस वर्णको साझा फुलवारी हो । चेतना भया ॥