ओलीलाई भेट्न प्रतिबन्ध
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाटलाई रोक लगाइएको छ । हालै पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गरेर भक्तपुरको गुण्डुस्थित निवासमै स्वास्थ्य लाभ गरिरहेका ओलीसँग हुने भेटघाटलाई रोक लगाइएको हो ।
शल्यक्रियापछिको सम्भावित इन्फेक्सनबाट अध्यक्ष ओलीलाई बचाउन राजनीतिक भेटघाट गर्न नदिइएको उनको सचिवालयले जनाएको छ ।
निवासमै चिकित्सकसहित स्वास्थ्यकर्मीको निगरानीमा रहेका ओलीसँग पार्टीका पदाधिकारीले दूरी कायम गरेर भेटघाट गरे पनि अन्य नेता तथा कार्यकर्ता र सर्वसाधारणलाई भेट्न भने दिइएको छैन। चिकित्सकको सल्लाहअनुसार उनीसँग हुने भेटघाटलाई तत्कालका लागि रोक लगाइएको हो ।
अझै दुई हप्ता ओलीसँग हुने भेटघाट रोक्न चिकित्सकले सुझाव दिएका छन् । ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
