डर र त्रासमा नपर्न उद्योगी व्यवसायीलाई रविको आग्रह

फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको बताएका छन् ।

आइतबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटमा उनले सरकारको उद्देश्य निजी क्षेत्रलाई हतोत्साही बनाउने नभई नीति सुधार गर्ने रहेको भन्दै उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका हुन् ।

सरकारको सुशासन अभियानमा साथ दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गर्दै उनले सरकार उद्योगी व्यवसायीहरूसँग सहकार्य गरेर नै अगाडि बढ्न चाहेको बताए । तर अर्थतन्त्रलाई कमजोर बनाउने गतिविधिहरूमा राज्यले कडाइका साथ निगरानी राख्ने उनको भनाइ छ ।

विगतमा राजनीतिक अस्थिरता र परिवेशका कारण व्यवसायीहरू विभिन्न शक्तिकेन्द्रको दबाबमा परेका घटनाहरूलाई सरकारले राम्रोसँग बुझेको उनले बताए । उनले अब अवस्था नदोहोरिनेमा ढुक्क हुन आग्रह गरे । सरकारले उद्योगी व्यवसायीलाई नीतिले नै सुरक्षा दिने उनको भनाइ छ ।

उनले भने, ‘तपाईंहरूको मनोबल अलिकति के भएको हो रु कस्तो भएको हो, अलिकति डर त्रास देखिएको भन्ने सुनेको कारणले तपाईंहरूसँग बसेर छलफल गर्न खोजेको हो । तपाईंहरू अलिकति पनि चिन्ता मान्न पर्दैन।

यो सुशासनको एजेन्डालाई अलिकति द्रुत गतिमा अगाडि बढाउनका लागि केही प्रश्नहरू तपाईंसम्म आइपुगेछ भने त्यसलाई यहाँहरूले सहज रूपमा लिइदिनुहोला। तर हामी मिलेर नै काम गर्ने हो। सरकारको कुनै व्यवसायीलाई हतोत्साही बनाएर, उसको व्यवसायलाई धराशायी बनाएर जाने कुनै पनि उद्देश्य छैन ।

उनले वर्तमान सरकार चुनावमा आफूहरूले गरेको वाचापत्रको आधारमा नै सञ्चालन हुने बताए । जनताले वाचापत्र हेरेर नै भोट दिएको उल्लेख गर्दै उनले वाचापत्र भन्दा दायाँबायाँ नजाने दाबी गरे । उनले उद्योगी व्यवसायीलाई आफ्ना कमीकमजोरीलाई पनि मूल्याङ्कन गर्न आग्रह गरे ।