चुनाव गराउन मेहेनत गर्ने राष्ट्रपति पौडेल र खापुङ,वाहवाही बटुल्ने प्रधानमन्त्री कार्की
रुषा थापा
कानूनअनुसार प्रधानमन्त्री र मन्त्रीहरुले राष्ट्रपतिसमक्ष शपथ खाएको ३५ दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्रीको कुर्सी सम्हालेको ६ महिना पूरा भएको छ । तर, उनले हालसम्म सम्पत्ति विवरण सार्वजनिक गरेकी छैनन् । उनी नेतृत्वको क्याबिनेटका एउटै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।
सम्पत्ति विवरण सार्वजनिक नगरिँदै चार जना मन्त्री राजीनामा दिएर चुनावमा होमि एभने तीन जनाले जितेका पनि छन् । यद्यपि, उनीहरुको मन्त्री बन्नुअघि कति सम्पत्ति थियो र बनेपछि कति पुग्यो ? जनता अन्जान छन् । प्रधानमन्त्री कार्की सेवा निवृत्त कर्मचारी हुन् । उनले पेन्सनसँगै प्रधानमन्त्रीको तलबभत्ता, सेवासुविधा पनि बुझिरहेकी छन् । उनको काठमाडौंको टोखामा घर छ ।
तीन–चार आना सरकारी जग्गा कब्जा गरेर प्रधानमन्त्री कार्कीले घर बनाएको आरोप छ । यिनी न्यायाधीश वा प्रधानन्यायाधीश हुँदा धेरै सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, वनजंगल, राजपरिवारलगायतको जग्गा व्यक्तिलाई दिने फैसला सुनाएकी थिइन् । कहिले कांग्रेस त कहिले एमाले हुँदै उनी पदमा पुगेकी हुन् । प्रधानन्यायाधीश हुँदा भ्रष्टाचार गरेको भन्दै सदनमा उनीमाथि महाअभियोगको प्रस्तावसमेत आएको थियो ।
सेवा निवृत्त भएपछि कार्कीले नागरिक अभियान थालिन् । अभियानको नाममा कांग्रेस, एमालेलाई गालीगलौज गर्ने, भ्रष्टाचार र सुशासनका ठूल्ठुल्ला कुरा गर्ने र जनता उचाल्ने काम उनी गर्थिन् । कार्की एनजिओहरुमा आबद्ध रहेको पनि आरोप छ । यसैक्रममा भद्रौ २० गते तत्कालिन कांग्रेस र एमाले गठबन्धनमा बनेको केपी शर्मा ओली नेतृत्वको क्याबिनेटले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्यो ।
फेसबुक, युट्युबसहितका सञ्जाल बन्द गरिएको थियो । यी सञ्जाल बन्द गर्नुको एउटै कारण थियो– हाम्रो संविधान, ऐन, कानून मानेर करको दायरामा आउनु । बन्द गरिएका धेरैजसो सञ्जाल अमेरिकी प्लेटफर्म हुन् । सञ्जाल बन्दविरुद्ध भदौ २२ गते जेनजी पुस्ताले आन्दोलन घोषणा गरे। त्यसमा काठमाडौं महानगरपालिकाका तत्कालिन मेयर बालेन्द्र साह (बालेन) र नख्खु जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समर्थन जनाए ।
बालेनले २८ वर्ष मुनिका सबैलाई आन्दोलनमा आउन आह्वान गरे त रविले विज्ञप्ति नै निकालेर समर्थन जनाएका थिए । भदौ २३ गते बिहानै माइतीघर मण्डलामा जेनजीहरु भेला भए । उनीहरुले शान्तिपूर्ण आन्दोलन गछौं भनेका थिए तर पछि संघीय संसद् भवन तोडफोड गर्न थालियो। सो दिन संसद् चलिरहेको थियो । कानूनमा स्पष्ट भनिएको छ–आन्दोलनको नाममा सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्याउन खोजिएमा प्रहरीले घुँडामुनि गोली चलाउन सक्छ ।
यही कानूनी अधिकारको प्रयोग गर्दै प्रहरीले जेनजीमाथि गोली चलायो । दुर्भाग्य, भीडका कारण कसैको टाउको त कसैको छातीमा लाग्यो । प्रहरीको गोलीबाट पहिलो दिन १९ जनाले ज्यान गुमाए । त्यसपछि देश शोकमा डुब्यो । तर, यसको फाइदा रवि, बालेन र सुशीला कार्कीजस्ताले उठाए । बालेनले आन्दोलनकारी र आफ्ना सन्तान गुमाएका परिवारलाई उक्साउनेगरी फेसबुकमा अराजक स्टाटस लेखे ।
रविले आफ्ना सांसदहरुले राजीनामा दिन लगाए । उता, कार्की सडकमै आइन् र एमाले–कांग्रेसलाई सरकारमा बस्न अधिकार नभएको बताइन्। भदौ २४ गते बिहानैदेखि सडकमा भीड जम्मा भयो । आन्दोलनकारीको एउटै माग थियो, प्रधानमन्त्री ओलीको राजीनामा । अन्ततः दिउँसो १२ बजे ओलीले पदबाट राजीनामा दिए । योसँगै आन्दोलनकारीको माग पूरा भयो तर आन्दोलन झनै अराजक बन्यो ।
आन्दोलनको नाममा सिंहदरबारसहित सरकारी तथा निजी सम्पत्ति जलाइयो । आन्दोलनकै मौका छोपेर रवि जेलबाट भागे । उनी भागेपछि देशभरका अदालत छानीछानी जलाइयो । भदौ २४ गते साँझ देश खरानी बनेपछि बालेनले फेसबुकमा फेरि स्टाटस लेख्दै जेनजीलाई रोकिन र संसद् विघटन गरेर मात्र सरकार गठन गर्न भने । जेनजी बालेनाई प्रधानमन्त्री बनाउन चाहन्थे । तर, बालेनको दाउ अर्कै थियो ।
उनको योजना रहेछ–अहिले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने पछि चुनावपछि आफू बन्ने । त्यही भयो । भदौ २७ गते कार्की प्रधानमन्त्रीमा नियुक्त भइन् । र, लगत्तै प्रतिनिधि सभा विघटन गरिन् । फागुन २१ गते चुनाव घोषणा गरिन् । उता, आन्दोलनको बेला भागेका रवि फेरि जेल फर्किए । तैपनि न्याय पाउने आशामा । रविको आशा पनि पूरा भयो ।
प्रधानमन्त्रीको दबाबमा अदालतले उनलाई छोडिदियो । रवि जेलबाट निस्किनेबित्तिकै बालेनसँग सहमति गरे । चुनावमा सँगै होमिने र प्रधानमन्त्री बालेनलाई बनाउने । बालेन मेयरबाट राजीनामा दिएर चुनावमा होमिए । र, जितेपनि । अब उनी प्रधानमन्त्री बन्ने तय भएको छ ।
अब भन्ने जेनजी आन्दोलनको योजनाकार को रहेछन् ? कलेज ड्रेसमा विद्यार्थीलाई सडकमा बोलाउने, उक्साउने अनि आरोप चाँहि ओलीमाथि मात्र थुपार्ने ? विदेशी प्लेटफर्मलाई आफ्नो देशको कानून मान्न लगाउनु, कर तिर्न लगाउनु अपराध हो ? ७६ जनाको लाशमाथि राजनीति गर्दै बालेन र रवि सत्तामा पुग्ने भएका त छन् तर यो सत्ता धेरै समय टिक्ने छैन ।
पाप अवश्य धुरीबाट कराउने नै छ । तब अहिलेजसरी जनताले सत्तामा पुर्याएका छन्, त्यसरी नै निकाल्ने पनि छन् । बालेन, रवि र सुदनले आफ्नो स्वार्थका निम्ति देश खरानी बनाएको प्रष्ट छ । नभए जेनजीहरु किन चुनावमा होमिएनन् । जेनजीको नक्कली खोल ओढेर उनीहरु सत्तामा पुगेका छन् । तर, झुट कहिल्यै धेरैसमय टिक्दैन भन्ने कुरा याद रहोस् ।
जनता मासेर सत्तामा पुग्नेहरु टिक्नसक्दैनन् भन्ने कुरा त इतिहास पनि देखाउँछ नि । त्यसैले, बालेन र रविको खुशी पनि धेरै समयसम्म रहने छैन। यता, चुनाव गराएको भन्दै प्रधानमन्त्री कार्कीको वाहवाही भइरहेको छ । तर, चुनाव उनको कारण भएको होइन, राष्ट्रपति रामचन्द्र पौडेल र तत्कालिन प्रहरी महानिरीक्षक चन्द्रकुँवेर खापुङका कारण भएको हो । कार्कीले ओलीलाई पक्रन निर्देशन दिँदा आईजीपी खापुङले रक्तको भल बग्छ भन्दै राजीनामा दिन्छु नै भने।
कार्कीले प्रधानमन्त्री बनेपछि महिनौंसम्म राजनीतिक दलसँग संवाद गरिनन्। राष्ट्रपति पौडेलले शीतल निवासमा सर्वदलीय बैठक बोलाएपछि कार्की र दलहरुबीच संवाद भएको थियो। त्यसपछि बल्ल चुनाव भएको हो। अनि चुनाव गराउने कार्की कि राष्ट्रपति पौडेल र खापुङ ? जनताले अब बुझ्नुपर्छ । यदि चुनाव नभएको भए अर्को गृहयुद्ध हुने अवश्य थियो। तर, भ्रम नपलाऔं। आफ्नै सम्पत्ति विवरण सार्वजनिक नगर्ने कार्कीले चुनाव गराइन् भन्नु हास्यास्पद छ।
