पेट्रोल,डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो। वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।

निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ।

दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजेल र मट्टितेलको मूल्य १५१ पुगेको छ।

त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर,जनकपुर,अमलेखगञ्ज, भलवारि, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ।

निगमतले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ।

यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ।