सरकारले दलालीको कुरा सुन्दा डुबे जनता र वित्तिय संस्था,बैंकमा पनि संकट
रुषा थापा
नेपाल राष्ट्र बैंकले घरजग्गा, गाडी र सेयरमा कर्जा प्रवाहका निम्ति विभिन्न नीति बनाउँदै आएको छ । यी वस्तुमा के–कति कर्जा प्रवाह गर्न पाइने? राष्ट्र बैंकले तय गर्छ। र, सोहीलाई मानेर बैंक, वित्तिय संस्थाले ऋण दिनुपर्छ। पाँच वर्षअधि राष्ट्र बैंकले नीति बनाएको थियो–बैंक, वित्तिय संस्थाले सेयर धितो राखेर १२ करोड बढी कर्जा प्रवाह गर्न नपाउने।
त्यस्तै, घरजग्गा र गाडीमा मूल्याङ्कनको आधारमा ४० देखि ५० लाखसम्म कर्जा प्रवाह गर्न पाउने भनियो । अर्थात् एक करोड मूल्य बराबरको घरजग्गा वा गाडी धितो राखेर ४० देखि ५० लाखसम्म ऋण दिन पाइने । तर, सेयर दलालहरुको दबाबमा सेयरमा लगाइएको १२ करोडको सीमा हटाइयो । अहिले एउटै व्यक्ति वा संस्थाले आफूसँग भएको सेयर धितो राखेर अर्बौसम्म कर्जा लिन पाउँछन् ।
घरजग्गा र अटो व्यवसायीको दबाबमा घरजग्गा र गाडीलाई मूल्याङ्कनको आधारमा ८० प्रतिशतसम्म कर्जा दिन पाउने नीति ल्याइयो । तर, बैंक, वित्तिय संस्थाका कर्मचारीलाई १५ देखि २० प्रतिशत कमिशन खुवाएर करोडको धितोलाई अर्बौ कर्जा दिइएको पाइन्छ । घरजग्गा, गाडी र सेयर विलासित वस्तु हुन् । विपद् आउँदा जुनसुकै बेला घर भत्किन सक्छ ।
गाडी सिसा, फलाम, रबर, फर्म, प्लास्टिकलगायतबाट बन्छ । जुन कबाडीले दुई रुपैयाँ किलोमा समेत लग्दैन । सेयर बैंक, वित्तिय संस्था, हाइड्रोपावर, इन्स्युरेन्स कम्पनीहरुले प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गरेका हुन् । दलालीहरुले एकाएक मूल्य बढाएर ३२ सय कित्तासम्ममा बेचे । यही सेयर मूल्य घटेर १७ सय कित्तासम्म पुगेको रेकर्ड छ ।
कानूनले नै घरजग्गा, गाडी र सेयरलाई विलासित वस्तु भनेको छ । दुर्भाग्य, कानून बुझेर वा नबुझेर दलालीको लहैलहैमा पारेर सर्वसाधारणदेखि बैंक, वित्तिय संस्थासम्मले यी वस्तुमा लगानी गरे । नियामक राष्ट्र बैंक, अर्थ मन्त्रालयले पनि दलालीहरुको दबाब वा लबिङमा घरजग्गा, गाडी र सेयरमा कर्जा प्रवाह खुकुलो बनाइदियो ।
केही वर्षयता यी तिनै क्षेत्रमा व्यापक मन्दी छ । घरजग्गा, गाडी र सेयरको मूल्य लगातार घटिरहेको छ । तीन करोडको घरजग्गा अहिले त्यसको आधा मूल्यमा समेत बिक्री हुँदैन । गाडीको पनि मूल्य घट्दो छ । अब त इजरायल, अमेरिका र इरान युद्धले पेट्रोल र डिजेलबाट चल्ने सबै सवारीसाधन थन्किने पक्का छ । अनि गाडीमा गरिएको लगानी बालुवामा पानी हुनेछ ।
यता, ३२ सयको सेयर २५ सयमा झरिसकेको छ । सेयर केही समयपछि एक सय कित्तामै झर्ने बताइन्छ । सेयरमा एउटै व्यक्तिले करोडौं लगानी गरेका छन् । बैंक, वित्तिय संस्थाले त यो धितो राखेर अर्बौ कर्जा दिएका छन् । धितो मूल्य घटेपछि ऋणीले कर्जा तिर्दैनन् । यस्तो हुनेबित्तिकै बैंक, वित्तिय संस्था डुब्छन् ।
बैंक, वित्तिय संस्था डुब्नु भनेको जनता डुब्नु हो । सहकारी डुब्दा वा भाग्दा करोडौं जनता डुबेका छन् । उनीहरुको रुवाबासी चलिरहेको छ । अब बैंक डुबेमा कति जनता डुब्लान् ? सरकारको उनीहरुको निक्षेप कसरी फिर्ता लग्ला ? सहकारी डुबेको पाँच वर्ष बितिसक्दा त निक्षेप फिर्ता गर्न नसक्ने सरकारले बैंक डुबेमा निक्षेप फिर्ता गर्छ त ? यो हास्यास्पद छ ।
दलालीहरुले घरजग्गा, गाडी र सेयरको मूल्य कृत्रिम रुपमा बढाए । दश हजार रोपनीको जग्गा टुक्राटुक्रा पारेर आनाकै २५ लाखदेखि १२ करोडसम्ममा बेचियो । एक रोपनीमा १६ आना हुन्छ । छिमेक भारत र चीनबाट ५० हजारदेखि दश लाखमा किनेर ल्याइएको गाडी यहाँ अढाई लाखदेखि करोडौंमा बेचियो । एक सयको सेयर ३२ सयमा बेचियो ।
यी वस्तु उद्योग होइनन् न त कलकारखाना । तर, जनतादेखि बैंक, वित्तिय संस्थासम्मले आँखा चिम्लेर लगानी गरे । सरकारले पनि दलालीकै कुरा सुन्यो । दलालहरुले जे जे भन्यो, सरकारका निकायले त्यही गर्यो । यदि सरकारले घरजग्गा, गाडी र सेयरमा लगानी गर्न कडाई गरेको भए न सहकारी डुब्थ्यो न जनता डुब्थे । न त मुलुकको अर्थतन्त्रमै संकट आउँथ्यो ।
हाम्रो खेतीयोग्य जमिन मासेर घर ठड्याइयो । पाँच दशकअघिसम्म खाद्यान्नमा आत्मनिर्भर हामी अहिले गुन्द्रकसमेत विदेशीको खान्छौं । कृषिलाई हेला गरियो । अनपढ, बेरोजगारीले मात्र कृषि गर्छ भन्ने भ्रम फैलाइयो भने मासिक लाखौं कमाउने लोभमा खाडीलगायत मुलुक गइयो। आफन्त, साथीभाइले पनि आफ्नो देशमा केही गर्छुभन्दा एक लाख पनि ऋण नदिने तर विदेश जान्छु भनेमा करोडसम्म ऋण दिने ।
हाम्रो मानसिकता नै खराब भयो । अहिले विदेशी मुलुकबीच युद्ध चलिरहेको छ । तर, हामी त्यसको असर भोगिरहेका छौं । खाडीमा रहेका लाखौं नेपालीको ज्यान खतरामा छ । देशभित्र ग्यास र पेट्रोलियम पदार्थको हाहाकार छ । यी वस्तुको अचाक्ली मूल्यवृद्धि भएको छ । अनि धेरै कमाउने लोभ र सौखिन जीवनले कसलाई असर गर्यो ? हामीलाई नै होइन र । नेपाली जनता निकै सोझा छ । जुन हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले पनि देखाइसक्यो ।
मिठामिठा कुराको पछि लागेर जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बहुमत दिए । तर, रास्वपा सरकारमा नआउँदै जनताको ढाड सेकिसक्यो । सरकारमा आएपछि त के के हुने होला ? अर्कोकुरा, महँगीका कारण जनता पीडित बनिरहँदा रास्वपा चुप छ । यसबारे न सभापति रवि लामिछाने बोल्छन् न वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ।
अनि यस्ता व्यक्तिहरुबाट देशमा विकास गर्छु, रोजगारी सिर्जना हुन्छ, सुशासन कायम हुन्छजस्ता आशा राख्नु नै बेकार छ । सरकारबाहिर हुँदा त जनताको आवाज नसुन्नेले सरकारमा पुगेपछि कसरी सुन्छ ? अब फेरि जनताले दुःख पाउने बेला आएको छ । यहाँ त चुनावका नाममा जनताका भावनासँग खेल्ने अनि जितेपछि चुपचाप बस्ने परम्परा नै बनिसक्यो ।
रास्वपाले चाहेपनि केही गर्न सक्नेछैन । किनकि सबै लगानी विलासित वस्तुमा गरिएको छ । घरजग्गा, गाडी र सेयरमा । रास्वपा सभापति रवि लामिछानेले चुनावका बेला आफ्नो पार्टीको सरकार बन्नेबित्तिकै सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गरिने दाबी गरेका थिए । अब त बैंक पनि डुब्दैछ।
घरजग्गा, गाडी र सेयरमा लगानी गरेका जनता पनि डुब्दैछन् । अनि उनीहरुको पनि त पैसा फिर्ता गर्नुपर्ला नि । राजस्व संकलन ठप्प छ । अनि रास्वपाका आश्वासन चाँहि ठूल्ठूला । रास्वपा जनताको अपेक्षामा खडा हुन्छ कि हुँदैन ? देशभरका जनता हेरिरहेका छन् ।
