काठमाडौं महानगरले ग-यो वीर अस्पतालसँग निःशुल्क क्यान्सर परीक्षणको सम्झौता
काठमाडौं।काठमाडौं महानगरपालिकाले महिलामा देखिने स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचारका लागि वीर अस्पतालसँग सम्झौता गरेको छ।
सोमवार महानगरको स्वास्थ्य विभाग र वीर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायतको उपस्थिति रहेको थियो।
सम्झौताअनुसार आगामी चैत १६ गतेदेखि वीर अस्पतालबाट परीक्षण सेवा सुरु गरिनेछ। दैनिक १०० देखि १२० जना महिलाको परीक्षण गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ।
महानगरले प्रारम्भिक चरणमै क्यान्सरको अवस्था पहिचान गरी उपचार सहज बनाउन यो सहकार्य गरिएको जनाएको छ । नेपालमा महिलामा स्तन र पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रूपमा देखिएकाले समयमै परीक्षण आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् ।
