प्रचण्डका विश्वासपात्र रास्वपाका सांसद,नेकपा पृष्ठभूमि भएकाको रास्वपामा वर्चस्व
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई–तिहाइ बहुमतसहित ऐतिहासिक सफलता हासिल गरेको छ । प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेर रास्वपाले सदनमा १८२ सिट सुरक्षित गरेको छ।
यद्यपि,प्रत्यक्षतर्फ निर्वाचित भएकामध्ये ४० जनाभन्दा बढी सांसदहरू अन्य राजनीतिक दल त्यागेर रास्वपा प्रवेश गरेका व्यक्तिहरू छन। विशेषगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)छोडेर रास्वपाको टिकटमा संसद पुग्नेहरूको संख्या उल्लेख्य छ।
नयाँ शक्ति र वैकल्पिक राजनीतिको नारा दिए पनि रास्वपाका ४२ जना सांसदहरू कांग्रेस, एमाले र नेकपाकै पृष्ठभूमिबाट आएका छन्। कतिपय निर्वाचित सदस्यहरू राज्यका विभिन्न निकायमा लामो समय सेवा गरी निवृत्त भएका पूर्वकर्मचारीहरू समेत हुन्।
रास्वपाबाट चुनाव जित्ने धेरैजसो नेताहरू विगतमा पटक–पटक परीक्षण भइसकेका अनुहार हुन् । कतिपय त प्रदेशसभामा निर्वाचित भई मन्त्रीसम्म भइसकेका व्यक्तिहरू छन् ।
त्यसैको एक उदाहरण हुन्, रहबर अन्सारी । बारा क्षेत्र नं.४ बाट निर्वाचित रहबर अन्सारी उम्मेदवारी दर्ताको दुई दिनअघि मात्र रास्वपा प्रवेश गरेका थिए । उनी यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र र केन्द्रीय सदस्य थिए ।
२०७९ को स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित अन्सारी पछि प्रदेशसभा सदस्य र मन्त्रीसमेत बनेका थिए । अहिले माओवादी ‘पुरानो’ भएको तर्क गर्दै उनी रास्वपाबाट निर्वाचित भएका हुन्।
अहिलेको नेकपा छोडेर रास्वपाबाट चुनाव लड्ने रहबर मात्र होइन धेरै जना रहेका छन् । त्यस्तै सर्लाही– ३ बाट जितेका रास्वपाका नरेन्द्र साह कलवार पनि पुसको अन्तिमसम्म नेकपाका नेता थिए । तर, उनको टिकट नारायणकाजी श्रेष्ठले खोसेपछि रास्वपा प्रवेश गरेर टिकट लिएका थिए ।
कलवारले श्रेष्ठलाई हराएर संसदमा पुगेका छन् । तर, रास्वपाले भन्दै आएको जस्तो कलवार नयाँ होइनन् । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही– ३ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए, तर हारे । उनी २०७० सालको संविधानसभा निर्वाचनमा तराई मधेश सद्भावना पार्टीबाट समानुपातिक सभासद् बनेका थिए ।
कलवार उम्मेदवार बन्नका लागि १२ असोज २०७९ मा माओवादी केन्द्र प्रवेश गरेका थिए । नभन्दै २०७९ सालमा सर्लाही– ३ बाट उम्मेदवार बनेर ३२ हजार १६८ मत ल्याएर हारेका थिए । तर, योपटक टिकट नपाउने भएपछि रास्वपा प्रवेश गरेका थिए।
यता रौतहट–३ बाट निर्वाचित रवीन्द्र पटेल पनि नेकपा ९माओवादी० को प्रदेश समिति सदस्य र जनयुद्धका पुराना नेता हुन् । अघिल्लो निर्वाचनमा माओवादीले प्रभु साहलाई समर्थन गरेपछि उनी असन्तुष्ट थिए । यसपटक नेकपाले पुनम देवीलाई टिकट दिएपछि उनी अन्तिम समयमा रास्वपा पुगेका हुन् ।
पर्सा–४ बाट निर्वाचित टेकबहादुर शाक्य र धादिङ–२ बाट विजयी बोधनारायण श्रेष्ठको पृष्ठभूमि पनि माओवादी केन्द्रसँगै जोडिएको छ । शाक्य पूर्वकेन्द्रीय सदस्य हुन् भने श्रेष्ठ युनिसेफको जागिर छोडेर चुनावको एक महिनाअघि मात्र राजनीतिमा होमिएका हुन् । नवलपरासी सुस्तापूर्व–१ बाट जितेका राजन गौतम पनि माओवादी जनयुद्धकै उत्पादन हुन्, जो विभिन्न समयमा टिकट नपाएपछि रास्वपा प्रवेश गरेका थिए।
रास्वपाबाट धादिङ– २ बाट चुनाव जितेका बोधनारायण श्रेष्ठ पनि तत्कालीन माओवादी केन्द्रका समर्थक हुन् । उनी नेता नभए पनि माओवादीमा आस्थावान् थिए । उम्मेदवारी दिनुभन्दा एक महिनापहिलासम्म युनिसेफमा जागिर गर्दै आएका थिए । तर, रास्वपा प्रवेश गरेर नै टिकट लिएका हुन् । उनले अत्यधिक मतले चुनाव जितेका छन् ।
नवलपरासी सुस्तापूर्व–१ बाट जितेका राजन गौतम पनि माओवादी जनयुद्धकै उत्पादन हुन् । ०७४ सालको स्थानीय तहको चुनावमा देवचुली नगरपालिकामा वडा अध्यक्षको टिकटको दाबेदार थिए । तर, उनले टिकट पाएनन् । ०७९ सालमा प्रतिनिधिसभाको टिकटको आकांक्षी थिए । त्यसबेला पनि टिकट पाएनन् ।
कांग्रेससँग गठबन्धन गरेको माओवादीले शशांक कोइरालालाई समर्थन गरेपछि उनी रास्वपा प्रवेश गरेर टिकट लिएका थिए । उनले त्यो समयमा कोइरालासँग हारेका थिए।
पूर्णतः नयाँ र वैकल्पिक शक्ति भएकाले जनताले मत दिएको रास्वपाको दाबी छ तर, निर्वाचित हुनेहरूमा पुराना दलका असन्तुष्ट नेता, पूर्वमन्त्री र पटक–पटक अवसर पाएका व्यक्तिहरूको बाहुल्यता देखिएको छ।
मतदाताले उम्मेदवारको पृष्ठभूमि भन्दा पनि ‘रास्वपाको लहर’ र चुनाव चिह्न ‘घण्टी’ लाई विश्वास गरेर मतदान गरेको देखिन्छ । यहाँसम्म कि मतदाताहरूले आफूले भोट दिएको उम्मेदवारको नामसम्म पनि थाहा नपाएरसमेत भोट दिएका छन्।
