भायानेटको वाई-फाई सिक्स सेवा सुरु,पुराना ग्राहकले न्यूनतम शुल्कमा इन्टरनेट अपग्रेड गर्न सक्ने

काठमाडौं। इन्टरनेट सेवाप्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘वाई-फाई सिक्स’ प्रविधिमा आधारित नयाँ इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ । इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता समस्यालाई समाधान गर्ने उद्देश्यले कम्पनीले नयाँ वाई-फाई प्रविधि भित्र्याएको हो ।

पुरानो प्रविधिको तुलनामा चार गुणा बढी कार्यक्षमता प्रदान गर्ने यो प्रविधिले लेटेन्सीलाई न्यूनतम स्तरमा झार्ने भायानेटको दाबी छ। ग्राहकका लागि २५० एमबीपीएसदेखि ६०० एमबीपीएससम्म स्पिड भएको ‘वाई-फाई सिक्स’ प्याकेज ल्याइएको छ।

जसमध्ये २५० एमबीपीएस स्पिडको वार्षिक योजना भ्याटसहित १३ हजार ८०० रुपैयाँमा उपलब्ध हुनेछ। यसका साथै, वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले थप एक महिनाको इन्टरनेट सेवा निःशुल्क प्राप्त गर्न सक्नेछन्।

घरको कुना-कुनासम्म समान रूपमा इन्टरनेट सिग्नल पुर्‍याउन कम्पनीले भ्याटसहित तीन हजार पाँच सय रुपैयाँमा वाई-फाई सिक्स मेस राउटरको विकल्प पनि उपलब्ध गराएको छ।

बाक्लो भित्ता वा ठुलो क्षेत्रफल भएका घरका सबै भागमा साधारण राउटरले सिग्नल पुर्‍याउन नसक्ने समस्यालाई यो मेस प्रणालीले समाधान गर्ने कम्पनीको भनाइ छ।

यसैगरी पुराना ग्राहकलाई लक्षित गर्दै इन्टरनेट अपग्रेड प्रक्रिया किफायती बनाएको कम्पनीले जनाएको छ। हालका प्रयोगकर्ताले ५०० रुपैयाँ शुल्क तिरेर आफ्नो पुरानो राउटरलाई नयाँ ‘वाई-फाई ६ ओएनयू’मा परिवर्तन गर्न सक्नेछन् ।

फोरके भिडिओ स्ट्रिमिङदेखि बिना रोकावटको अनलाइन गेमसम्मका आधुनिक आवश्यकतालाई वाई-फाई सिक्स प्रविधिले सहजै पूरा गर्ने कम्पनीको दाबी छ।  भायानेटको वाईफाई सिक्स सेवामा पुराना ग्राहकले ५०० रुपैयाँमै इन्टरनेट अपग्रेड गर्न सक्ने सुविधा कम्पनीले दिएको छ।