रवि लामिछानेविरुद्ध सहकारी ठगीमा जाहेरी दिने व्यक्ति नै सहकारी ठगीमा पक्राउ

पोखरा। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राई तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी दिने कृष्णप्रसाद जैसी नै अर्को सहकारी ठगी आरोपमा पक्राउ परेका छन्।

सूर्यदर्शन सहकारीका पीडितहरूको तर्फबाट आन्दोलनदेखि अदालतसम्म सक्रिय भूमिका खेलेका जैसी पोखराकै धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रमुख योजनाकारका रूपमा पक्राउ परेका हुन्।

गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

वित्तीय विश्लेषक निर्मल गौतमको प्रतिवेदनअनुसार धनुष सहकारीको १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको देखिएपछि थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरिएको रजिस्ट्रार कार्यालयले जनाएको छ ।

प्रहरीले जैसीलाई पक्राउ गरिसकेको छ भने अन्य चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाएको छ । यसअघि २०८१ साल पुसमा गरिएको प्रारम्भिक छानबिनमा १९ करोड १८ लाख रुपैयाँ हिनामिनाको प्रतिवेदन रजिस्ट्रार कार्यालयमा पेश गरिएको थियो ।

रजिस्ट्रार कार्यालयले पटक–पटक निर्देशन दिए पनि ६ करोड रुपैयाँ मात्र असुल भएको र बाँकी १२ करोड ५६ लाख रुपैयाँ शोधभर्ना नभएपछि अनुसन्धानका लागि प्रहरीमा सिफारिस गरिएको हो ।

साविक ‘साइनो’ र ‘धनुष’ सहकारी मर्ज भई धनुष बचत तथा ऋण सहकारी संस्था बनेको थियो । पोखरा–९ र अन्नपूर्ण गाउँपालिका–९ नौडाँडामा रहेका यी सहकारीहरू मर्ज भएपछि नयाँ व्यवस्थापन समिति गठन गरिएको थियो ।

प्रतिवेदनअनुसार साविक साइनोतर्फका अध्यक्ष गमरेजसिंह गुरुङ, उनकी श्रीमती तथा सञ्चालक काशीमाया गुरुङ, छोरी सिर्जना गुरुङ तथा एभिएस इन्जिनियरिङ कन्सल्टेन्सीका सञ्चालक एवं तदर्थ समितिका अध्यक्ष असिम बरालको योजनामा करिब ३ करोड रुपैयाँ हिनामिना गरिएको उल्लेख छ ।

धनुष सहकारीतर्फका व्यवस्थापकद्वय विराज सुवेदीले २ करोड २५ लाख र जगत पौडेलले १ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यस्तै, कृष्णप्रसाद जैसीले ऋण उपसमितिमा रहेर कृत्रिम खाता सिर्जना गरी ८२ लाख रुपैयाँ हिनामिना गरेको पनि प्रतिवेदनले देखाएको छ।

मुख्य योजनाकारका रूपमा उनीहरूलाई जिम्मेवार ठहर गरिएको छ भने अन्य पदाधिकारीमाथि पनि अनुसन्धान अघि बढाउन सिफारिस गरिएको छ।

यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जैसीलगायतले दिएको जाहेरीका आधारमा रवि लामिछाने पक्राउ परेका थिए। सो प्रकरणमा पहिलो चरणमा जीवी राइसहित १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो भने पूरक अनुसन्धानपछि रविसहित ५१ जनालाई प्रतिवादी बनाइएको थियो।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधअन्तर्गत दायर उक्त मुद्दामा १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गरिएको छ। सोही प्रकरणमा पक्राउ परेका रवि लामिछाने ८४ दिनपछि ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए।

कृष्णप्रसाद जैसी सूर्यदर्शन सहकारी पीडितहरूको आन्दोलनमा सक्रिय नेतृत्वकर्तामध्ये एक थिए। फागुन २१ गतेअघि चुनावी अभियानका क्रममा उनले सूर्यदर्शन सहकारीमा बचत गरेको रकम फिर्ता नपाएको भन्दै विद्यालय शुल्क तिर्न नसकेको गुनासोसहित रास्वपा उम्मेदवार बिना गुरुङलाई बिल बुझाएका थिए, जसले व्यापक चर्चा पाएको थियो।