सशस्त्र प्रहरीमा ६ डिआइजी रिक्त,यी हुन् दाबेदार ?

काठमाडौं। यतिबेला सशस्त्र प्रहरी बल, नेपालले आफ्नो दुईवटा बाहिनी कार्यालय निमित्तको भरमा चलाइरहेको छ। गृहमन्त्री ओमप्रकास अर्याल र गृहसचिव राजकुमार श्रेष्ठले समयमा निर्णय नलिदा सशस्त्रका दुई बाहिनी कार्यालय निमित्तको रुपमा चलेको मात्र होइन ६ डिआइजीको बढुवा रोकिएको छ। जसले गर्दा सशस्त्र प्रहरीको वृत्तिविकासमा ४ महिनादेखि अवरोध भैरहेको छ।

सशस्त्र नयाँ आइजीपी नियुक्त हुन लाग्दा पनि डिआइजीहरुको बढुवा समयमा नहुँदा दुई वटा बाहिनी निमित्तको भरमा चलाइरहेको हो। लामो समयदेखि साधारण समूह साधारण उपसमूहतर्फ (कानुन निर्देशनालयबाहेक) नायव महानिरीक्षक (डीआईजी) को ६ वटा पद रिक्त भएपनि सशस्त्र मुख्यालयले बढुवा प्रक्रिया नथालेर नम्बर ६ महेश्वरी बाहिनी सुर्खेत र नम्बर ७ वैद्यनाथ बाहिनी कैलाली निमित्त बाहिनीपतिको भरमा चलाइरहेको छ।

सशस्त्र प्रहरी नेतृत्वले गत मंसिरमा डीआईजीमा बढुवा भएका कृष्णराज पाठकलाई नामा मात्र हो कार्यालय दिएर राखिएको छ। उनको कार्यक्षमता नभएकै कारण बाहिनीको जिम्मेवारी नदिई राखिएको स्रोतले जनाएको छ।

 हाल नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोदराज श्रेष्ठ र नम्बर ७ वैद्यनाथ बाहिनी धनगढी (कैलाली) मा एसएसपी दिगविजय सुवेदी निमित्त प्रमुख छन्। श्रेष्ठलाई केही महिनाअघि नै निमित्त बाहिनीपतिको रूपमा सरुवा गरिएको भएपनि सुवेदीलाई निर्वाचन आचारसंहिता सुरु हुनु एक दिनअघि सरुवा गरिएको थियो।

नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतका निमित्त बाहिनीपति श्रेष्ठ सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन् भने सुवेदी सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका हुन्।

सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका श्रेष्ठले डीआईजी बढुवाका लागि अनिवार्य मानिएको स्टाफ कलेज गरेका छैनन्। बढुवा गर्दा उनीभन्दा जुनियर एसएसपी डीआईजी हुने र उनी निमित्त बाहिनीपतिको ‘रेस’ बाट टाढा हुने हुनाले अहिले नै उनलाई बाहिनीको कमान्ड सुम्पिएको हो। सुवेदीलाई निमित्त बाहिनीपतिको जिम्मेवारीमा दिइएकोमा उनकै ब्याचका एसएसपीहरु भने असन्तुष्ट छन्।

सशस्त्र प्रहरीमा अहिले मंसिर पहिलो साता थप गरिएको दुई डीआईजी, गत पुस २४ गतेदेखि रिक्त भएको थप तीन गरी पाँच र फागुन १ गतेदेखि रिक्त थप एक गरी ६ डीआईजीको दरबन्दी रिक्त छ। सशस्त्र प्रहरी मूख्यालयले पटक पटक बढुवाको प्रस्ताव लगेपनि मन्त्रलयबाट स्वीकृति नआउदा रोकिएको स्रोतले जनाएको छ।

सशस्त्रको डीआईजी बढुवामा ढिलाइ गर्नुको मुख्य कारण भनेको दाबेदारहरू बढी हुनु हो। सिसं २ सशस्त्र प्रहरी निरीक्षकका एसएसपीहरू डीआईजी बन्नेछन्।

जसमा सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका दिगविजय सुवेदी, भूपेन्द्र केसी, कमल तिउसिना, नीरकृष्ण अधिकारी, किरण बस्नेत, सुधिरजंग थापा, नेत्रबहादुर कार्की, राजेन्द्र खड्का, किरण ढुंगाना, माधव पौडेललगायतको सम्भावना बढी देखिन्छ।

उनीहरुले आफ्नो बढुवाका लागि सम्बन्धित निकयाहरुमा दौडधुप गरिरहेका छन्। यसैगरी कानुन समूहका युवराज अर्यालको बढुवा पनि होल्ड भएको छ। उनलाई बढुवा गर्नका लागि सशस्त्रले अलग्गै दरबन्दी पाएको थियो।