अमेरिका र क्यानडा पठाउने भन्दै ठगी गर्ने ४ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २५ वर्षीय सरस्वती भण्डारी,गुल्मीको कालिगण्डकी गाउँपालिका–६ का ३७ वर्षीय काशिराम दर्जी,पूर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका–१२ का ४२ वर्षीय धनिराम बुढा र कास्कीको रुपा गाउँपालिका–५ का ३६ वर्षीय बिकल पौडेल छन्।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाएको छ।

पौडेलले क्यानडा पठाउने भन्दै १० लाख, बुढाले अमेरिका पठाउने भन्दै १८ लाख,दर्जीले क्रोएसिया पठाउने भन्दै ३ लाख २० हजार र भण्डारीले रोमानिया पठाउने भन्दै १ लाख ४६ हजार ठगी गरेको आरोप छ।