कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको हो ।
आजको बैठकमा मंगलबारदेखि जारी छलफलका एजेन्डामाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने छन्। मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले आगामी भदौ २४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए।
बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
उनका अनुसार प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता, भ्रातृ सङ्घ, शुभेच्छुक संस्था र जनसम्पर्क समिति सम्बन्धमा, केन्द्रीय लेखा समिति गठन र विविध विषयमा पनि छलफल भएको थियो।
