प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गर्ने भएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन्। नेपाली काँग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन्।

ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।