यी ४९ सांसदले १७ मातृभाषामा शपथ लिने

काठमाडौं। प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यको शपथ भोलि हुँदैछ। नवनिर्वाचित सांसदहरुमध्ये ४७ जनाले १७ वटा मातृभाषामा सपथ लिने तय भएको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य कांग्रेस नेता अर्जुननरसिंह केसीले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि बाँकी २७४ सांसद्लाई केसीले नै भोलि शपथ गराउने छन्। चैत १२ गते दिउँसो २ बजे केसीले २७४ सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने संसद् सचिवालयले जनाएको छ।

संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्का प्रत्येक सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि शपथ लिनुपर्छ। मातृभाषामा पनि सांसदहरूले शपथ लिन पाउनेछन्।

त्यसका लागि सचिवालयले तोकेको समयसीमाभित्र सम्बन्धित सांसदहरूले त्यसको जानकारी गराउनुपर्ने प्रावधान छ। सोही अनुसार मातृभाषामा शपथ लिन चाहने सांसदहरूलाई त्यसको जानकारी दिन संसद् सचिवालयले सूचित गरेको थियो। जसअनुसार ४७ जना सांसदले नेपालीबाहेकको मातृभाषामा शपथ ग्रहण गर्ने जानकारी संसद् सचिवालयलाई गराएका संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

श्रम संस्कृति पार्टीका ७ जना सांसदले चारवटा मातृ भाषामा शपथ लिने तयारी गरेका छन् भने अध्यक्ष हर्क सामपाङले नेपाली भाषामै शपथ लिने पार्टीले जनाएको छ।

नेपाल भाषामा शपथ लिन अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुसुम महर्जन, कृपा महर्जन, गंगालक्ष्मी अवाल, मदनकृष्ण श्रेष्ठ, रुकेश रन्जित, विराजभक्त श्रेष्ठ, सहजान खातुनले निवेदन दिएको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरि आकृति अवस्थी, दीपकराज बोहरा र हरिनादेवी कामीले डोटेली भाषामा शपथ लिने तयारी गरेका छन्। संसद सचिवालयकाअनुसार अंकिता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, कामिनी कुमारी, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्र साह कलवार, निशा मेहता, मनीष झा, मातृकाप्रसाद यादव, रामजी यादव, सीताराम साह, शम्भुकुमार यादव र जोगकुमार बरबरिया यादवले मैथिली भाषामा शपथ लिनेछन्।

सचिवालयका अनुसार नीतिमा भण्डारी कार्की र राजेशकुमार चौधरीले बजिका भाषामा शपथ लिने र कन्हैया बनियाँ र रवीन्द्र पटेलले भोजपुरी भाषमा शपथ लिनेछन्।

त्यसैगरि अमरकान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, प्रमिलाकुमारी गच्छदार, सुरेन्द्र चौधरी तथा कठरियाले थारू भाषामा, करिश्मा कठरिया र कृपाराम रानाले थारू भाषामा शपथ लिनेछन् । मगही भाषामा प्रमोदकुमार महतो र राजकिशोर महतोले शपथ लिने संसद् सचिवालयले जनाएको छ।

त्यसैगरि संस्कृत भाषामा खुश्बु ओली, बान्तावा भाषामा ध्रुवराज राई, तामाङ भाषामा परशुराम तामाङ, चाम्लिङ भाषामा निश्कल राई, अवधिमा मोहम्मद इश्तियाक राई, बझांगीमा ऐनबहादुर महर, छन्त्यालमा गंगा छन्त्याल र मगर खाम भाषमा रेनुका काउचाले शपथ लिने छन्।