च्यालेन्ज ट्रफी खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा
काठमाडौं।आईसीसी महिला च्यालेन्ज ट्रफीका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ ९क्यान० ले बुधबार २९ खेलाडीलाई प्रशिक्षणका लागि डाकेको हो।
महिला च्यालेन्ज ट्रफी आगामी अप्रिल १२ देखि मे २ सम्म रुवान्डामा हुनेछ। महिला च्यालेन्ज ट्रफी उदीयमान राष्ट्रहरूलाई उच्च प्रदर्शनका लागि एक्पोजर दिन आईसीसीले तयार पारेको नयाँ कार्यक्रमको ढाचाँ हो।
च्यालेन्ज ट्रफीमा पाँच आईसीसी विकास क्षेत्रहरू अफ्रिका, अमेरिका, एसिया, पूर्वी एसिया प्रशान्त र युरोपबाट शीर्ष टोलीहरू सहभागी हुनेछन्। यो इमर्जिङ नेसन्स ट्रफीको हिस्सा नभइ क्षेत्रीय छनोट कार्यक्रम (आईसीसी महिला टी–२० विश्वकप २०२६ क्षत्रीय छनोट) मार्फत पहिचान गरिएको छ।
इमर्जिङ नेसन्स च्यालेन्स ट्रफीमा अमेरिका छनोटबाट संयुक्त राज्य अमेरिका, एसिया छनोटबाट नेपाल, युरोपेली छनोटबाट इटाली, पूर्वी एसिया प्रशान्त छनोटबाट भानुआटु र अफ्रिका छनोटबाट आयोजक रुवान्डाले प्रतिस्पर्धा गर्नेछन्।
आईसीसी महिला च्यालेन्ज ट्रफीको खेलतालिका पछि मात्र सार्वजनिक गर्ने आइसीसीले तयारी गरेको छ। प्रारम्भिक टोलीमा परेका खेलाडीहरुमा इन्दु बर्मा, पूजा महतो,रुविना क्षेत्री, सिता राना मगर, बिन्दु रावल, सम्झना खड्का, रुवि पोडार, कविता जोशी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कठायत, सिमाना केसी छन्।
त्यस्तै राजमती ऐरी, मनिषा उपाध्याय, रचना चौधरी, सोनी पाख्रिन, सना प्रविन, खुशी डंगोल, सुधा धामी, किरण कुवँर, लक्ष्मी साउद, अलिसा यादव, तृसना विक, कुसुम गोदार, यशोदा विष्ट, एञ्जि पाठक र रमा बुढाथोकी रहेको क्यानले जनाएको छ।
