ठमेलमा यौनधन्दा गर्दै आइरहेका २० विदेशी महिला पक्राउ
काठमाडौं । काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले २० जना विदेशी महिलालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेलस्थित सार्वजनिक स्थानमा स्वदेशी तथा विदेशी पर्यटकहरूलाई बाधा पु¥याउने, पैसामा बार्गेनिङ गरी यौन धन्धा सञ्चालन गर्ने र बाटो हिँड्ने सर्वसाधारणलाई दुःख हैरानी दिने गरेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेलको फायरचोकस्थित सार्वजनिक सडक खण्डमा निगरानी गर्ने क्रममा युगाण्डाका ती महिलाहरूले बाटो छेक्ने र अश्लील क्रियाकलापका लागि मोलमोलाइ गरी सर्वसाधारण तथा पर्यटकलाई हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै २० जना महिलाहरू युगाण्डाका नागरिक हुन्। उनीहरूलाई ‘अभद्र व्यवहार गर्न नहुने’ कसुर अन्तर्गत मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १२ दिनको म्याद थप अनुमति लिइएको छ। हाल उनीहरूमाथि प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए।
