सार्वजनिक यातायातको भाडा बढाउन सिफारिस,भाडा नबढाए यातायात सेवा प्रभावित पार्ने व्यवसायीको चेतावनी
काठमाडौं। सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ। यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मानेर सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेको हो।
सार्वजनिक यात्रुवाहक सवारी साधनमा ११.३३ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा १४.२९ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ८.८१ प्रतिशत भाडा बढाउन सिफारिस गरिएको छ।
नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुनेगरी डिजेल प्रतिलिटर १० र पेट्रोल प्रतिलिटर १५ रुपैयाँले बढाएको छ। निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा त्यसको सिधा असर यातायात व्यवसायीलाई परेको भन्दै भाडा बढाउन यातायात व्यवसायी राष्ट्रिय महासंघले माग गरेको छ।
महासंघले २०७२ सालदेखि भाडा समायोजन नभएको भन्दै हाल व्यवसायीहरूले दैनिक लाखौं रुपैयाँ घाटामा सेवा सञ्चालन गरिरहेको उल्लेख गरेको छ। त्यस्तै, महासंघले यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित पार्ने चेतावनी समेत दिएको छ।
