सहकर्मीले बिरामीको बाहना र दायित्वबाट बिमुख भएपछि मौखिक आदेशमा कमाण्ड सम्हालेँ: आईजीपी कार्की

काठमाडौं। जेनजी आन्दोलनको क्रममा सहकर्मीहरुले बिरामीको बहाना बनाएर दायित्वबाट बिमुख भएपछि आफूले मौखिक आदेशमै काठमाडौं उपत्यका प्रहरी कार्यालयको कमाण्ड सम्हालेको तत्कालीन एआईजी (हाल आईजीपी) दानबहादुर कार्कीले बताएका छन्।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलन घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई बयान दिँदै कार्कीले उक्त कुरा बताएका हुन्।

२३ भदौसम्म उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत थिए। त्यतिबेला काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी भने एआईजी बिहिन थियो।

२४ भदौमा कोही एआईजीले कमाण्ड सम्हाल्न अनिच्छा देखाएको त कोही बिरामीको बहानाबाजी गरी दायित्वबाट बिमुख भएको अवस्थामा मौखिक आदेशमै आफूले कमाण्ड सम्हालेको बयान कार्कीले दिएका छन्।

२४ भदौमा ९ बजे कार्यालय पुगेर निर्देशन दिएको र लगत्तै गृह मन्त्रालय पुगेको उनले बताएका छन्। एकैसाथ हिंसा, तोडफोड, आक्रमण फैलिदै गएको अवस्थामा निर्णयहरु समयको अभाव र अत्याधिक दबाबबीच लिनु परेको उनले बताएका छन्।

त्यतिबेला उपत्यकामा ४ हजार ३९६ प्रहरी परिचालन भएको उनले बताएका छन्। सामाजिक सञ्जाल बन्द गरेको समाचार सार्वजनिक भएपछि तत्कालीन सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्नुपर्ने सुझाव दिएको बताएका छन्।

त्यस्तै २३ भदौमा पनि अब सम्भावित क्षति रोक्न राजीनामा लगायतका कुरा उपयुक्त हुने सुझाव दिएको कार्कीले बयानमा बताएका छन्।

रास्वपा सभापति रवि लामिछानेको कारागार बाहिर आएको विषया पनि उनले बयानमा बताएका छन् । ‘तत्कालीन अवस्थामा प्रहरी महानिरीक्षक बन्ने दौडमा अस्वस्थ प्रतिस्पर्धाका सबै मानक माथ गर्ने प्रतिस्पर्धी मध्येका कोही एक जनाले उक्त उजुरी सुनियोजित रुपमा प्रेसित गरेको प्रमाणहरुले देखाउँदै लगेको छ’ कार्कीले बयानमा भनेका छन्।

हिरासतका थुनुवा छाड्ने बारे कार्कीले बयानमा भनेका छन्, ‘थुनुवाको ज्यान खतरामा परेको अवस्थामा मानव अधिकारको न्यूनत मापदण्ड पालना गर्दै अभिलेख राखी खोजेका बखत उपस्थित हुने सर्तमा थुनुवा छाड्ने निर्देशन सिमित र विशेष अवस्थामा मात्रै दिइयो’ उनले भनेका छन्।