ओली-लेखकको पक्राउ अपरिपक्व कदम: पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ गर्ने सरकारको निर्णय अपरिपक्व भएको बताएकी छन्। शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व राष्ट्रपति भण्डारीले यो पक्राउले दूरगामी प्रभाव पार्ने र अस्थिरताको जोखिम बढाउनसक्ने भन्दै चिन्ता व्यक्त गरेकी हुन्।
कार्की आयोगको प्रतिवेदन स्वयंमा पूर्ण नभएको कुरा अध्ययनहरूले देखाएको सन्दर्भमा, सरकार गठन भएको पहिलो दिनमै उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्दै तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा पूर्व गृहमन्त्री श्री रमेश लेखकलाई पक्राउ गरिनु अत्यन्तै संवेदनशील र दूरगामी प्रभाव पार्ने विषय हो, भण्डारीले भनेकी छन्,यस प्रकारको अपरिपक्व निर्णय वर्तमान संविधान, प्रचलित कानुन तथा स्थापित लोकतान्त्रिक अभ्यासहरूसँग मेल नखाने देखिन्छ।
कुनै पनि जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा विधिसम्मत प्रक्रिया, पर्याप्त अध्ययन तथा संस्थागत परामर्श आवश्यक हुने विज्ञप्तिमा उल्लेख छ ।
सुशासनलाई मुख्य एजेन्डा बनाएर गठन भएको वर्तमान सरकारबाट यस्तो अपरिपक्व कदम चालिनु अत्यन्त दुस्खद् विषय भएको उनले बताएकी छन् ।
उनले सरकारलाई संयमता अपनाउँदै विधि र प्रक्रियाअनुसार अघि बढ्न तथा मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणालीको संरक्षणतर्फ गम्भीर हुन आग्रह गरेकी छन्।

