कांग्रेसले भन्यो-आन्दोलन तय गरेका छैनौं,सरकारको निष्पक्षता खोज्छौं
काठमाडौं । नेपाली कांग्रसले तत्काल कुनै आन्दोलनका कार्यक्रमहरू तय नगरेको प्रष्ट पारेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय सचेतना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
‘सरकारको व्यवहार आग्रहपूर्ण देखियो । हामीले सडक आन्दोलन लगायतका केही कायक्रम गर्ने निर्णय गरेका छैनौं,’ प्रवक्ता चालिसेले भने ।आफ्नो पार्टीले सरकारको निष्पक्षता र व्यवहारको सुनिश्चितता खोजेको पनि उनले बताए ।
हामीले सरकारको निष्पक्षता र व्यवहारको सुनिश्चितता खोजेको हो । थप केही सोच्नुपर्यो भने फेरि निर्णय गरौं,’ प्रवक्ता चालिसेले भने ।
साथै, आयोगको प्रतिवेदनमा भदौ २३ को जस्तो अनुसन्धान २४ गतेकोमा नभएको भन्दै आपत्ति जनाए । २४ गतेको घटनाको पनि अनुसन्धान हुनुपर्ने कांग्रेसको भनाइ छ ।
‘२४ गतेको घटनालाई यतिकै छाड्न मिल्छ र रु २४ गते कसले विध्वंश गरायो भनेर जनतालाई भन्नु पर्दैन रु को दोषी छ थाहा पाउनुपर्दैन रु,’ प्रवक्ता चालिसेले भने ।
सरकारको व्यवहार चयनमुखी देखियो
नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको दमनबारे जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदन कार्यान्वयनका लागि चयनमुखी भएको निष्कर्ष निकालेको छ।
शनिबार बसेको पार्टीको संसदीय सचेतना कार्यक्रमपछि पार्टीले एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको व्यवहार ‘सेलेक्टिभ’ भएको निष्कर्ष निकालेको हो।
आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रका हकमा अध्ययन समिति गठन गरी सो बमोजिम गर्ने तर अन्यमा हकमा तत्काल कार्यान्वयन गर्ने भन्ने किसिमको निर्णय गर्नु र हतारमा पक्राउ गर्नुले भाद्र २३ को एउटै घटना,एउटै छानबिन प्रतिवेदन र एकै किसिमको सिफारिसमा पनि सरकारको व्यबहार “सेलेक्टिभ” भएको देखिन्छ,कांग्रेसले भनेको छ।

