काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं । जेनजी आन्दोलन हुँदा काठमाडौँको सिडीओ रहेका छवि रिजाल पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई तिनकुनेको सुविधानगरबाट पक्राउ गरेको हो।

अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले पूर्वप्रजिअ रिजाल पक्राउ परेको पुष्टि गरे। उनका अनुसार थप अनुसन्धानका लागि रिजाललाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको छ।

जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । भदौ २३ र २४ मा प्रदर्शन हुँदा उनी काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए।

बानेश्वरमा किशोरहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तीव्र आलोचना भइरहेको छ। तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगमा रिजालले आफुले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको बयान दिएका छन्।

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै पूर्व प्रधानमन्त्री केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ गरेका थिए। शनिबार बिहान निसाबाटै पक्राउ परेका उनीहरुमाथि ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।