सिटिजन्स बैंकमा चरम लापरबाही
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलमा चरम लापरबाही हुने क्रम बढेको छ। विराटनगरको कञ्चनबारी शाखाबाट करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको घटना सतहमा आएसँगै लापरबाही फेरि बाहिरिएको हो ।
मुद्दती निक्षेपमा पैसा राख्ने ग्राहकलाई थाहा नै नदिई नक्कली ऋण फाइल बनाएर रकम निकालिएको थियो। यस घटनाकी मुख्य आरोपीलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैनन् । घटनामा संलग्न अन्य कर्मचारीहरूलाई निलम्बन गरिएको छ र थप अनुसन्धान भइरहेको बताइएको छ ।
तर, यो घटना मात्रै होइन । सिटिजन्स बैंकमा यस्ता विवाद बारम्बार दोहोरिँदै आएका छन् । कहिले खाताबाट पैसा हराउने, कहिले नक्कली कागजातका आधारमा कर्मचारी नियुक्त हुने, कहिले अन्य आर्थिक अनियमितता देखिने—यस्ता घटना नयाँ होइनन्।
गम्भीर कुरा के हो भने धेरैजसो प्रकरणमा कडा कारबाहीभन्दा ‘भित्रै मिलाउने’ प्रयास हुने गरेको आरोप लाग्दै आएको छ। पछिल्लो घटनामा समेत संलग्न कर्मचारीसँग पैसा फिर्ता गराउने सर्तमा मुद्दा नहाल्ने कुरा उठेको देखिन्छ ।
यसले बैंकको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ । गल्ती गर्नेहरूलाई कारबाही गर्नुको सट्टा जोगाउने प्रवृत्ति देखिँदा संस्थाभित्रको अनुशासन कमजोर भएको देखिन्छ। यति हुँदाहुँदै पनि नियामक निकायले कति प्रभावकारी रूपमा निगरानी गरिरहेको छ भन्ने प्रश्न पनि उठेको छ ।
बैंक भनेको विश्वासको ठाउँ हो, जहाँ मानिसले आफ्नो बचत सुरक्षित हुन्छ भनेर राख्छन्। तर सिटिजन्स बैंकसँग जोडिएका लगातारका घटनाले त्यो विश्वास कमजोर बनाइरहेको छ । अब आवश्यक छ– पारदर्शी छानबिन, दोषीमाथि कडा कारबाही र प्रणाली सुधार। नत्र, यस्ता घटना फेरि दोहोरिने जोखिम रहिरहनेछ ।
