समाचार लेखेकै कारण पत्रकार काफ्लेलाई धम्की,पत्रकार महासंघको आपत्ति
काठमाडौं। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले जनरक्षा डटकमका सम्पादक राम शरण काफ्लेलाई प्रकाशित समाचारको विषयमा धम्की दिइएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
लोकतान्त्रिक व्यवस्थामा कुनै समाचारप्रति असहमति भए त्यसको कानुनी उपचारको बाटो खुला हुन्छ। प्रेस काउन्सिल, अदालत, खण्डन, प्रतिवाद वा मानहानी मुद्दा जस्ता कानुनी उपाय हुँदाहुँदै पत्रकारलाई सीधै धम्की दिनु लोकतान्त्रिक संस्कृतिको विपरीत मानिन्छ। यसले समाचार सही वा गलत भन्ने विषयभन्दा पनि आलोचना सहन नसक्ने प्रवृत्ति राज्य संयन्त्रभित्र अझै कायम रहेको संकेत गरेकाे छ।
समितिले प्रेस विज्ञप्ति जारी गर्दै धनुषामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ सई सागर राणासम्बन्धी समाचार प्रकाशन भएपछि उक्त समाचारकै विषयलाई लिएर सम्पादक काफ्लेलाई धम्की दिइएकोप्रति आपत्ति जनाएको हो। विज्ञप्तिमा समाचारप्रति असहमति भए कानुनी प्रक्रिया अपनाउने स्पष्ट व्यवस्था हुँदाहुँदै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरिएको छ।
महासंघले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्न दिनुपर्ने र प्रेस स्वतन्त्रताको सम्मान गर्न सबै पक्षलाई आग्रह गरिएको छ।
उपत्यका प्रदेश समितिले जारी विज्ञप्तिमा पत्रकारलाई धम्की दिने तथा प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ।

