वैदेशिक रोजगारीमा ठगी गर्नेहरूको नाम सार्वजनिक
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्नेहरूको नाम तथा विवरण सार्वजनिक गरेको छ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको निर्देशन अनुसार विभागले व्यक्तिगत रूपमा ठगी गर्नेहरूको विवरण सार्वजनिक गरेको हो ।
विभागले सार्वजिक गरेको सूची अनुसार २०८२ फागुन १७ गतेदेखि २०८२ चैत १७ गतेसम्म १ महिनाको अवधिमा ठगी गर्ने ३४६ भन्दा बढीको नाम सार्वजनिक भएको छ।
विभागको अनुसन्धान तथा मुद्दा शाखामा व्यक्तिगत रूपमा ठगी गरेका तथा वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा जाहेरी परेका प्रतिवादीहरूको सूची सार्वजनिक गरिएको हो।
विभागले अवदेखि हरेक ३/३ दिनमा दर्ता भएका मुद्दाको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ। जसमा प्रतिवादीहरूको नाम, ठेगाना र विगो रकम उल्लेख गर्नेछ। सोही आधारमा पहिलो पटक एक महिनाभरमा परेको ठगीका उजुरीहरूमा समावेश गरिएको प्रतिवादीहरूको विवरण सार्वजनिक भएको हो।
