कांग्रेसको १५ औं महाधिवेशनका लागि प्रक्रिया सुरू

काठमाडौं । नेपाली कांग्रेसले आज देखि १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउने भएको छ। पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले शनिबारदेखि १५औं महाधिवेशनको प्रक्रिया अगिाडि बढाउन लागेको हो।

प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज (१६–१९) मा १५ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको थियो।

कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने भनिएको थियो।

कांग्रेसले देशभर क्रियाशील सदस्यता वितरणका लागि खटिने प्रतिनिधिहरूलाई शनिबार ‘आरेन्टेसन’ दिँदैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रतिनिधिहरूका लागि दिउँसो २ बजे सानेपामा ‘आरेन्टेसन’ राखिएको जानकारी दिए।

कांग्रेसले निर्वाचन क्षेत्रमा खटिने प्रतिनिधिहरूको नाम भने सार्वजनिक गरेको छैन। दुलालले शनिबार दिउँसो विज्ञप्तिमार्फत् प्रतिनिधिहरूको नाम सार्वजनिक गरिने बताएका छन्।

‘आज २ बजे प्रतिनिधिहरूका लागि ‘आरेन्टेसन’ छ। महाधिवेशनका लागि कांग्रेसले १ वैशाखदेखि मसान्तसम्म देशभरका वडाहरूबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने गर्ने भएको छ। सदस्यता अद्यावधिकका लागि कांग्रेसले बैशाखभर एक महिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने छ।

एक महिने सदस्यता अद्यावधिक अभियानपछि वडाहरूले क्रियाशील सदस्यता १५ जेठसम्म प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नु पर्ने छ। यस्तै क्षेत्र र जिल्लाले सदस्यता ‘इन्ट्री’ गरेर २५ जेसम्म केन्द्रमा पठाइसक्नु पर्ने छ।

केन्द्रले सदस्यतामा आवश्यक छानबनि गरेर अन्तिम टुंगो लगाउने मिति १५ असारका लागि तोकिएको छ। यस्तै असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्ने कांग्रेसको कार्यतालिका छ।