बादललाई संसदीय दलको नेताबाट हटाउनेसम्मको तयारीमा एमाले
काठमाडौं। नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभाको बैठकमा दिएको अभिव्यक्तिलाई लिएर सिंगो पार्टीमा हलचल ल्याएको छ। हिजो (शुक्रबार) बसेको एमाले सचिवालय बैठकमा ६ घण्टासम्म बादलको उक्त अभिव्यक्तिबारे समीक्षा भएको स्रोतले बतायो ।
सचिवालय बैठकमा नेताहरुले बादलको शैली माओवादीकै रहेको र उनले एमालेलाई बुझ्नै बाँकी रहेको टिप्पणी गरेका थिए। केही नेताहरुले संसदीय दलको नेता फेर्नुपर्ने प्रस्तावसमेत अगाडि सारेको स्रोतको दाबी छ।
पार्टी सचिवालय बैठकमा बादलको अभिव्यक्तिलाई लिएर चर्को आलोचना भयो । करिब ६ घण्टासम्म उक्त अभिव्यक्तिबारेमा नेताहरुले आपत्ति जनाउँदै धारणा राखेका थिए।
बादलले भने आफू संसद्मा सम्बोधन गर्ने क्रममा केही भावुक भएको र त्यसलाई त्यही रुपमा लिन आग्रह गर्नुभएको थियो। तर, नेताहरु बादलसँग कन्भिन्स हुन सक्नुभएको छैन। बादललाई संसदीय दलको नेताबाट हटाउनेसम्मको तयारी सुरु भएको छ,स्रोतले भन्यो।
