नेपालमा अमेरिकी रणनीतिअनुसारको ‘कठपुतली सरकार’ बन्यो: मोहनविक्रम सिंह

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हालै सम्पन्न निर्वाचन र त्यसपछि गठन भएको सरकारलाई नेपालको आन्तरिक राजनीतिक आवश्यकताभन्दा अमेरिकी रणनीतिको उपज भएको आरोप लगाएका छन्।

उनले अहिलेको सरकारलाई अमेरिकी निर्देशनमा चल्ने ‘कठपुतली सरकार’ को संज्ञा दिँदै यसले नेपालको परराष्ट्र नीतिलाई छिमेकी देशहरूसँगको सम्बन्धमा आघात पुर्‍याउने र अमेरिकी स्वार्थलाई प्राथमिकता दिने बताएका छन्।

सिंहले वर्तमान सरकारको मुख्य उद्देश्य नेपालको भूमिलाई चीनको तिब्बतविरुद्ध प्रयोग गर्नु रहेको आशङ्का व्यक्त गरे । महामन्त्री सिंहले सरकारका केही मन्त्रीहरू खुला रूपमा ‘फ्री तिब्बत’ आन्दोलनका समर्थक भएको उल्लेख गर्दै यसले नेपाललाई युद्धभूमिमा परिणत गर्ने खतरा रहेको चेतावनी दिए ।

उनले पपुलिजम (लोकप्रियतावाद) लाई अन्तर्राष्ट्रिय समस्या भएकाले यसले फासीवाद जन्माउने जोखिम रहेको बताए । सिंहले भने, ‘हामीले युक्रेन, गाजा र इरानको अवस्था देखेका छौँ।

नेपाललाई पनि त्यस्तै युद्ध भूमि बनाउने योजनाबद्ध प्रयास भइरहेको छ । जब जनतामा राजनीतिक विचारभन्दा भावना हाबी हुन्छ, तब देशले गम्भीर क्षति बेहोर्नुपर्छ। अहिले नेपालका युवा र विद्यार्थीहरू अमेरिकी प्रचार यन्त्रको सिकार भएका छन्।

महामन्त्री सिंहले सरकारले स्वतन्त्र विद्यार्थी युनियन, ट्रेड युनियन र प्रेसमाथि नियन्त्रण गर्न थालेको आरोप लगाउँदै लोकतान्त्रिक अधिकारहरू हनन भएकोमा चिन्ता व्यक्त गरेका छन्।