शिक्षकको कुटपिटबाट छात्र घाइते,शिक्षकविरुद्ध प्रहरीमा उजुरी

सुनसरी। सुनसरीको धरान-१६ स्थित सिद्धार्थ शिशु विद्यालयमा कक्षा-५ मा अध्ययनरत ११ वर्षीय छात्र सिद्धार्थ कटवाललाई शिक्षकले निर्घात कुटपिट गरेका छन्।

विद्यालयका शिक्षक प्रदीप सुवेदीले सोमबार परीक्षा दिने क्रममा छात्र कटवालमाथि कुटपिट गरेको घटना सार्वजनिक भएको छ। कुटपिटका कारण छात्रको दाहिने हातमा गम्भीर चोट लागेको छ भने दाहिने गाला समेत सुन्निएको छ।

पीडित छात्रले शिक्षक सुवेदीले लाठी र हात प्रयोग गरी आफूलाई मरनासन्न हुनेगरी कुटपिट गरेको आरोप लगाएका छन्। उनले आफूसँगै अन्य बाकबालिकालाई कुटपिट गरि घाइते बनाएको बताए।

घटनापछि पीडित छात्रका परिवारजन आक्रोशित बनेका छन्। छात्रकी आमा सीता पौडेल कटवालले इलाका प्रहरी कार्यालय धरानमा शिक्षकमाथि कारबाहीको माग गर्दै जाहेरी दिएकी छन्।

उनले आफ्नो छोरा इमान्दार र अनुशासित रहेको र शिक्षकले बिना कारण कुटपिट गरी उनको बालमनोविज्ञानमा गम्भीर असर पुराएको बताइन्। उनले छोरो कुट्ने शिक्षक सुवेदी क्लास टिचरसमेत नरहेकाले उनीविरुद्ध कडा कारबाही गर्नु पर्ने सिद्धार्थका बुबा धनबहादुर कटवालले बताए।