कांग्रेसले निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम आजदेखि सुरु गर्दै

काठमाडौं। नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दैछ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोगेको पराजयका विषयमा समीक्षा सुरु गर्न लागेको हो। कांग्रेस महामन्त्री प्रदीप पौडेलकाअनुसार पहिलो दिनको कार्यक्रम आज मधेश प्रदेशको जनकपुरमा हुनेछ।

कार्यक्रममा सम्बन्धित प्रदेशअन्तर्गत क्षेत्रका उम्मेदवार, क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति, प्रदेशका केन्द्रीय सदस्य, समानुपातिकतर्फका उम्मेदवारहरू, प्रदेशका पदाधिकारीहरू सहभागी हुनेछन्।

कांग्रेसले तय गरेको कार्यक्रमअनुसार यही चैत २७ गते गण्डकीको पोखरामा, चैत २९ गते लुम्बिनीको बुटवलमा, वैशाख ३ गते कर्णालीको सुर्खेतमा, वैशाख ५ गते सुदूरपश्चिमको धनगढी, वैशाख ७ गते बागमतीको हेटौँडा र वैशाख ९ गते कोशी प्रदेशको विराटनगरमा समीक्षात्मक कार्यक्रम राखेको छ।