सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा मर्‍यो गैँडा,सिपाही आइसियुमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र गस्तीमा गएका सिपाहीहरू र आमा गैँडाबीच जम्काभेट हुँदा एक सिपाही गम्भीर घाइते भएका छन्। ज्यान बचाउन प्रतिकार गर्दा गैँडाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो १२ बजेर ५० मिनेटतिर निकुञ्ज सुरक्षामा खटिएका नयाँ गोरख गणअन्तर्गत नवलपुर सेक्टरको सेरी सुरक्षा पोस्टका सुरक्षाकर्मीसँग गैँडाको जम्काभेट भएको थियो।

निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार पैदल गएका चार सिपाहीको टोलीको अर्धवयस्क बच्चासहितको आमा गैँडासँग अचानक भेट भएको थियो।

अचानक जम्काभेट भएपछि सिपाहीहरूले तर्किएर भाग्ने प्रयास गरेका थिए। तर गैँडाले लखेट्न नछोडेपछि उनीहरूले १० राउन्ड हवाई फायरिङ गरेका थिए।

हवाई फायरिङपछि पनि गैँडाले आक्रमण जारी राखेपछि गस्तीमा रहेका सिपाही विकास घर्तीलाई लडाएर लछारपछार गर्न थालेको थापा मगरले जानकारी दिए। साथीमाथि आक्रमण भएपछि उनको ज्यान बचाउन थप दुई राउन्ड गोली गैँडातर्फ चलाइएको थियो।

गोली लागेपछि गैँडाको घटनास्थलमै मृत्यु भएको उनले बताए। ‘गैँडाले छोडेपछि घर्तीलाई बोकेर पोस्टमा ल्याई उपचारका लागि काठमाडौं पठाइएको हो,’ सूचना अधिकारी मगरले बताए।

गैँडाको आक्रमणमा परेका सिपाही घर्तीको ढाड, कम्मरलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। उनको वीरेन्द्र अस्पताल, छाउनीको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

घटनास्थलमै गोली लागेर मरेको गैँडाको निकुञ्जको टोलीले पोस्टमार्टम गरेको छ। पेटभन्दा माथि करङ क्षेत्रमा गोली लागेर गैँडाको मृत्यु भएको जनाइएको छ।

करिब २४ वर्षको उक्त गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ। घटना अमलटारी सेक्टरबाट करिब पाँच किलोमिटर टाढा निकुञ्जको कोर क्षेत्रमा भएको बताइएको छ।