अमेरिकाबाट एकैपटक ३५ नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाले एकैपटक ३५ नेपालीलाई डिपोर्ट गरेको छ। ३५ जना नेपालीलाई चार्टर विमानमार्फत अमेरिकाले डिपोर्ट गरेको हो । गत ७ अप्रिल (चैत २४, मंगलबार) उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

डिपोर्ट हुनेहरूमा अवैध बाटोबाट गएका १२ जना, विद्यार्थी भिसामा गएका २ जना रहेका छन् । मानव बेचविखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार, अन्यलाई भने विभिन्न नियम उल्लङ्घन गरेको आरोपमा अमेरिकाले डिपोर्ट गरिदिएको हो।

पछिल्लो दुई महिनामा अमेरिकाबाट २ सय बढी नेपालीहरू डिपोर्ट भइसकेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट पटकपटक नेपालीहरू डिपोर्ट हुँदै आएका छन्।

ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ। भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरूलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ।