रास्वपाकै सांसदले गृहमन्त्री सुधनको कार्यशैलीप्रति उठाउन थाले प्रश्न ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले गृहमन्त्री सुधन गुरुङको शैलीप्रति प्रश्न उठाउन सुरु गरेका छन्। गृहमन्त्री सुधन अनुगमनको कार्यमा जिल्ला जाँदा सम्बन्धित क्षेत्रका सांसदलाई खबर नगरिएको भन्दै पार्टीभित्र प्रश्न उठ्न थालेको हो।

काभ्रे–१ का सांसद मधु चौलागाईंले प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलमा र संसदीय दलको बैठक गृहमन्त्री गुरुङको शैलीको आलोचना गरेका हुन् । बागमतीबाट संघीय संसदमा निर्वाचित सांसदहरुसँग प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार छलफल गरेका थिए।

काभ्रे–१ का सांसद चौलागाई र धादिङ–१ बाट निर्वाचित आशिका तामाङले गृहमन्त्री गुरुङको शैलीको प्रधानमन्त्री शाहसँग आलोचना गरेका हुन् ।

गृहमन्त्री गुरुङ काभ्रे–१ मा जाँदा त्यही क्षेत्रको सांसद आफूलाई जानकारी नगराएको प्रति संसदीय दल र प्रधानमन्त्रीसँग कुरा राखेको बताइन्छ। 

‘हाम्रो संसदीय दलको बैठकमा पनि यो विषय उठाएको थिएँ। हाम्रो क्षेत्रमा जाँदा त्यहाँ के समस्या छन्। हामीलाई थाहा हुन्छ नि,सांसद चौलागाईंले भने १० जना मान्छे जम्मा गरेर आउनुभन्दा कम्तिमा हामीलाई लिएर गएको भए जनताको समस्या यस्तो यस्तो छ भन्थ्यौं नि।

गृहमन्त्री गुरुङ गत मंगलबार काभ्रेस्थित रोशी खोलाको स्थलगत निरीक्षणमा गएका थिए। रोशीखोलामा आउने वर्षाले प्रभावित हुने स्थानीयको अवस्था बुझ्न उनी निरीक्षणमा गएका थिए।

निरीक्षण गर्न पुगेका गृहमन्त्री गुरुङले सञ्चालनमा रहेका क्रसर उद्योगहरुमा पनि पुगेका थिए। अवैध क्रसर उद्योग बन्द गर्न उनले निर्देशन दिएका थिए।क्रसर उद्योगले गिट्टी बालुवा उत्खनन् गर्दा पहिरो गएको हुँदा अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएका थिए।

विगतमा राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको आरोप लगाउँदै अब नदिने गृहमन्त्री गुरुङले बताएका थिए।

काभ्रेमा विपद व्यवस्थापनका लागि गर्नुपर्ने कदमका बारेमा गृहमन्त्रीलाई आफूले जानकारी गराउन नपाएको प्रति सांसद चौलागाईंले असन्तुष्टि व्यक्त गरे। विपद व्यवस्थापन गृहले हेर्ने हो।

गृहमन्त्री जाँदा खेरि त्यहाँको विपद व्यवस्थापनसँग सम्बन्धित विषय त मैले भन्थे होला नि। म त निर्वाचनको बेलामा सबै क्षेत्र घुम्या छु। निर्वाचन क्षेत्रको प्रतिनिधिको हैसियतले क्षेत्र भित्रका मान्छेले समस्या परेपछि फोन गरेर त मलाई भन्ने हुन्।

गृहमन्त्री निरीक्षणका लागि जुन क्षेत्रमा गएपनि सम्बन्धित स्थानको जनप्रतिनिधिलाई खबर गर्न सुरक्षाको कारण पनि अपरिहार्य रहेको चौलागाईं बताउँछन्।

कदाचित्,त्यस क्षेत्रमा गृहमन्त्री गुरुङ माथि केही भएको भए त्यसको जवाफ आफूले दिनुपर्ने बताउँदै सांसद चौलागाईंले भारतको उदाहरण दिए।

भारतमा राजीव गान्धीलाई सुरक्षा हुँदाहुँदै पनि हत्या भएको प्रसंग उठाउँदै चौलागाईले भने,सुरक्षा निकायले सुरक्षा दिँदा दिँदै पनि राजीव गान्धी हत्याकाण्ड भयो। जवाफ चाहिँ मुख्यमन्त्रीले दिनुपर्‍यो। त्यहाँ केही भएको भए भोलि जवाफ त मैले दिनु पर्ने हुन्छ नि।

प्रधानमन्त्रीसँग धादिङ–१ की सांसद आशिका तामाङले गृहमन्त्री त्यस क्षेत्रमा जाँदा आफूसँग समन्वय नगरेको गुनासो गरेकी थिइन्।गृहमन्त्रीको व्यवहारमा उठाइएको प्रश्नमा प्रधानमन्त्री शाहले खासै प्रतिक्रिया नदिएको सांसद चौलागाईंले बताए।

प्रधानमन्त्रीको बोलीप्रति चौलागाईंले भने,‘मैले सबैको कुरा सुनें । तपाईंको कुरा सुन्नु पर्ने थियो मलाई भन्नुभयो उठेर जानुभयो।संसदीय दलको बैठकमा राखेको उक्त विषयलाई गृहमन्त्री गुरुङलाई अर्को बैठकमा उनलाई जानकारी गराउने कुरा भएको चौलागाईंले बताए।

गृहमन्त्री गुरुङ निर्माणधीन विकास पूर्वाधारको स्थलगत निरीक्षणमा निस्केर निर्माणकर्ता कम्पनीलाई छिटो काम सक्न निर्देशन दिँदै हिँडेका छन् ।

चितवनका विभिन्न क्षेत्रको अवलोकन पछि सोमबार स्तरोन्नति भइरहेको नारायणढ– बुटबल सडक खण्डको निरीक्षणमा पुगेका थिए। चिनियाँ निर्माण कम्पनीका प्रतिनिधिलाई सडक निर्माणको कार्य छिटो सक्न निर्देशन दिएका थिए।

समयमा सडक निर्माण नहुँदा यात्रुहरूले सास्ती भोग्नुपरेको,दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम रहेको उनले बताए। ठेकेदार कम्पनीलाई निर्धारित समयमा निर्माण नगरे सैह्य नहुने चेतावनी मन्त्री गुरुङले दिएका थिए।

गृहमन्त्री गुरुङले पार्टीको ‘चेन अफ कमाण्ड’ अनुसार कार्य नगरेको सांसद चौलागाईंको बुझाई छ। उहाँलाई गृहमन्त्री बनाएको त पार्टीले हो। पार्टीले संसदीय दलको नेता र प्रधानमन्त्री बनाएपछि बालेन मातहत हुने मन्त्री हो उहाँ,रास्वपा सांसद चौलागाई भन्छन्,‘जहाँ जाने हो।

त्यहाँको कमिटीलाई त कम्तिमा जानकारी गराउनु पर्छ नि। डुल्न जानुभयो भन्ने विषयमा हाम्रो आपत्ति होइन। साँच्चै समस्या बुझ्न गएको हो भने जनप्रतिनिधि सँगै लगेको भए बढी समस्या बुझिन्थ्यो भन्ने हो।