एसईईको नतिजा २९ वैशाखभित्र सार्वजनिक गर्ने तयारी
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ।
बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्ला जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आइरहेको छ। मार्कस्लिपलाई छुट्टाएर इन्ट्री गरिरहेका छौँ। उत्तरपुस्तिका पनि आइरहेको छ,उनले भने।
एसईई १९ देखि २९ चैतसम्म सञ्चलान भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो। परीक्षा सकिए लगत्तै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको हो।
यसरी परीक्षण भएका उत्तरपुस्तिकासहित मार्कस्लिप बोर्डमा आइरहेको हो। हालसम्म ८–१० वटा जिल्लाबाट आइसकेको छ।अन्य जिल्लाको आउने क्रममा छ,परीक्षा नियन्त्रक अधिकारीले भने।
बोर्डमा हाल ३० जना कर्मचारीको टोली खटिएर काम गरिरहेको छ। इन्ट्रीका लागि मात्र १७ जना कर्मचारी खटिएका छन्। समयमा नतिजा सार्वजनिक गर्नका लागि बिदाको दिन समेत कर्मचारीहरूले काम गरिरहेका छन्।
सरकारले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो। सोही अनुसार बोर्डले त्रुटि नुहुने गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
परीक्षा सकिएपछि ढिला नतिजा सार्वजनिक हुँदा विद्यार्थीलाई अनावश्यक तनाव हुने गरेको भन्दै सरकारले छिटो नतिजा निकाल्ने नीति लिएको हो।
यसवर्ष परीक्षाका लागि ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। जसमा नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए।
जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन्। जापानको एक केन्द्रबाट परीक्षा दिने २३ जना छन्। एसईई सञ्चालन गर्न १ हजार ९६६ केन्द्र कायम गरिएको थियो।
