कैलालीमा केबलकार निर्माण हुँदै,रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा ऊर्जा थप्ने दाबी
काठमाडौं। आइएमई ग्रुपको लगानीमा सुदूरपश्चिमको कैलाली,चिसापानीमा जाल्पादेवी केबलकार निर्माण भइरहेको छ। नववर्ष २०८३ को पहिलो दिन हिजोदेखि केबलकार जडानको लागि पोल ठड्याउने काम औपचारिक रूपमा प्रारम्भ भएको बताइएको छ।
ग्रुपका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त केबलकार एक परियोजना मात्र नभएको बताए। यसले क्षेत्रीय पर्यटन प्रवर्धन,रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने दावी गरेका छन्।
सामाजिक सञ्जालमा लेखेका छन्,नयाँ वर्षको पहिलो दिनमै शुरु भएको यो कामले हामीलाई नयाँ आशा,नयाँ यात्रा र नयाँ उपलब्धिको अझ दृढ विश्वास दिएको छ। अबको दुई महिनाभित्र परियोजना सम्पन्न गर्ने लक्ष्यसहित अघि बढेका छौँ।उनले सधैँ झैँ सबैको साथ,सहयोग र शुभेच्छाको अपेक्षा गरेका छन्।
