सार्वजनिक सवारीसाधनमा सिसीटिभी अनिवार्य गर्न निर्देशन

काठमाडौं। सिरहामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने भएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै २० दिनभित्र सबै यात्रीवाहक सवारीसाधनमा सिसीटिभी जडान गरिसक्न निर्देशन दिएको हो।

जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार सिरहा सदरमुकाम, लहान र मिर्चैयालगायत क्षेत्रबाट छुट्ने लामो तथा छोटो दूरीका सवारीसाधनमा यो नियम लागू हुनेछ।

सार्वजनिक यातायातमा हुनसक्ने चोरी, दुव्र्यवहार र अन्य आपराधिक क्रियाकलाप नियन्त्रण गरी यात्रुलाई सुरक्षित महसुस गराउन यो कदम चालिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार तोकिएको २० दिनको समयसीमाभित्र सिसीटिभी जडान भएरनभएकोबारे यातायात व्यवस्था कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट नियमित अनुगमन गरिनेछ। निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी गरिएको उक्त सूचनामा नियमको पालना नगर्ने सवारीसाधनलाई कारबाही गरिने उल्लेख गरिएको छ।