पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्यो: गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको निर्णयले पार्टी एकताबद्ध भएर अघि बढ्ने वातावरण बनेको बताएका छन् ।शुक्रबार अबेला सर्वोच्च अदालतको फैसला आएसँगै थापाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ,उनले लेखेका छन्, ‘यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो ।

पार्टीका सदस्य र शुभेच्छुकहरू देशभित्र वा बाहिर जहाँ भए पनि अब आ–आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने विश्वास रहेको पनि उनले बताएका छन्। उनले थपे, ‘पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु।

पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ।

अग्रजहरूको योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन सबै एक ढिक्का भएर अघि बढ्न पनि उनको आह्वान छ।