कांग्रेस जोगाउने जिम्मा गगन थापाको काँधमा
काठमाडौं । सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएसँगै अब पार्टीलाई एकताबद्ध बनाएर लैजाने मुख्य जिम्मेवारी थापाको काँधमा आएको छ।
सर्वोच्चको उक्त फैसलापछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कानुनी लडाइँको अध्याय समाप्त गर्दै अदालतको निर्णय स्वीकार्ने निर्णय गरेको छ। शनिबार बसेको पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूको बैठकपछि नेता मीनबहादुर विश्वकर्माले अदालतको फैसला शिरोधार्य गर्ने निर्णय भएको जानकारी दिए।
नेता विश्वकर्माले भने,फैसलामा हाम्रा केही असहमति र असन्तुष्टिहरू अवश्य छन्,तर स्वतन्त्र न्यायपालिकाको निर्णयलाई सम्मान गर्ने हाम्रो परम्पराअनुसार यसपटक पनि फैसला स्वीकार्ने निष्कर्षमा पुगेका छौँ।उनले अब पूर्णबहादुर खड्का निवर्तमान कार्यवाहक सभापतिका रूपमा रहने स्पष्ट पारे।
सर्वोच्चको फैसलासँगै कानुनी र वैधानिकताको विवाद टुंगिए पनि अब राजनीतिक चुनौतीहरू बाँकी रहेको नेता विश्वकर्माको भनाइ छ। उनले पार्टीभित्रको आन्तरिक एकतालाई बचाउने ‘बल’ अब सभापति थापाको कोर्टमा रहेको बताए।
‘हिजोसम्म पार्टीको साख र एकता जोगाउने बल शेरबहादुर देउवाको खुट्टामा थियो, तर अहिले सर्वोच्चले त्यो बल गगन थापाको खुट्टामा फालिदिएको छ,उनले भने,अब पार्टीलाई एकताबद्ध बनाउने, सबैलाई समेटेर लैजाने र कांग्रेसलाई थप बलियो बनाउने सबै जिम्मेवारी सभापति थापाको हातमा छ।
पार्टीको आन्तरिक कलह व्यवस्थापन गर्दै सबै पक्षलाई भावनात्मक रूपमा जोड्ने कार्यमा थापाको भूमिका निर्णायक हुने छ । विशेष महाधिवेशनबाट सभापति चुनिएका थापाले पार्टीका सबै नेता–कार्यकर्तालाई एक स्वर बनाएर अघि बढाउने वातावरण कसरी सिर्जना गर्छन्, अब त्यसैमा कांग्रेसको भविष्य निर्भर रहनेछ।
पार्टी एकता जोगाउनकै लागि मुद्दा विचाराधीन रहेकै अवस्थामा पनि देउवा पक्षले थापा नेतृत्वको समितिको टिकटमा चुनाव लडेको स्मरण गर्दै नेता विश्वकर्माले अब थापाले पनि सोही उदारता र समन्वयकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
