ट्राफिक प्रहरीले दादागिरी र अवैध असुली गरेको खुलासा
हेटौँडा। मकवानपुरको भैँसे क्षेत्रमा कार्यरत ट्राफिक प्रहरी हवलदार रोशननाथ माथि स्थानीयवासीले दादागिरी शैलीमा काम गरेको, अवैध रूपमा रकम असुल्ने र धम्की दिने गरेको गम्भीर आरोप लगाएका छन्। लामो समयदेखि सो क्षेत्रमा खटिँदै आएका उनीमाथि विगतदेखि नै यस्तै व्यवहार दोहोरिएको दाबीसमेत गरिएको छ।
स्थानीयका अनुसार सवारी जाँचको नाममा अनावश्यक रूपमा गाडी रोक्ने, चालकहरूलाई दुःख दिने र त्रास सिर्जना गर्ने कार्य नियमितजस्तै भएको छ।
अटो,एम्बुलेन्स तथा ईभी सवारीसँग मासिक रूपमा रकम माग गर्ने र ठुलो रकम जरिवाना तोकेर रसिद नदिने गरिएको आरोप पनि उठाइएको छ। यद्यपि,यी आरोपहरू आधिकारिक रूपमा पुष्टि हुन भने बाँकी छन्।
होटेल व्यवसायी पुनमजर्गा मगरका अनुसार रोशननाथले यसअघि करिब सात वर्ष पतैया क्षेत्रमा कार्यरत रहँदा पनि यस्तै दादागिरी देखाएको भन्दै त्यस बेला समेत गुनासो उठेको थियो। पहिलेदेखि नै यस्तै व्यवहार देखाउँदै आएका व्यक्ति हुन्,’ उनले दाबी गरिन्।
स्थानीयवासीले रोशननाथले आफूलाई शक्तिशाली व्यक्तिसँग जोडेर धम्की दिने गरेको आरोप पनि लगाएका छन्। राप्तीनगरका ट्राफिक एसपी मेरो आफन्त हो, मलाई कसैले सरुवा गर्न सक्दैन,भन्दै स्थानीयलाई त्रसित बनाउने गरेको गुनासो आएको छ।
स्थानीय राजकुमार वाइबा, सानो लामाथिङ र शुभम् मैनालीलगायतले यस विषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा ट्राफिक प्रहरी कार्यालयमा पटक–पटक उजुरी दिएको बताए पनि अहिलेसम्म कुनै ठोस कारबाही नभएको गुनासो गरेका छन्।
उनीहरूका अनुसार प्रदेश स्तरसम्म जानकारी गराउँदा पनि प्रभावकारी कदम नचालिँदा सर्वसाधारणमा प्रहरीप्रतिको विश्वास कमजोर हुँदै गएको छ।
लगातार गुनासो आइरहँदा पनि सम्बन्धित निकाय मौन देखिएको भन्दै स्थानीयले निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न र दोषी देखिए कडा कारबाही गर्न माग गरेका छन्। यस विषयमा आरोपित ट्राफिक हवलदार रोशननाथ तथा सम्बन्धित कार्यालयको आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
