भूपदेव शाह रास्वपा महामन्त्री बन्दै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाउने भएको छ। वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग भएको सहमति अनुसार भूपदेवलाई महामन्त्री बनाउन लागिएको हो।
बालेन काठमाडौं महानगरपालिकाका मेयर हुँदा भूपदेव प्रमुख स्वकीय सचिव थिए। फागुन २१ को निर्वाचनमा अछाम-२ बाट उम्मेदवार उनी पराजित भएका थिए। त्यतिबेला बालेन निकट सुनिल लम्साललाई महामन्त्री बनाउने तयारी थियो।
तर उनी अहिले भौतिक पूर्वाधारमन्त्री भएकाले लम्सालको ठाउँमा भूपदेवलाई ल्याउन लागिएको हो। रास्वपाको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा बस्दै छ। उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भएपछि उक्त पद पनि खाली छ।
