उपकुलपतिहरूलाई विद्यार्थी र कर्मचारीका संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग साढे तीन घण्टा छलफल गर्दै प्रधानमन्त्री शाहले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने बताएका हुन् ।
अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै दलको झण्डा, प्रभाव वा सङ्गठन राख्न नदिइने बताउँदै राजनीति गर्न चाहनेले पेसागत जिम्मेवारीबाट अलग भएर पूर्णकालीन राजनीतिमा लाग्न सुझाव दिए।
प्रधानमन्त्री शाहले दलीय सङ्गठन हटाउँदा कुनै ऐन बाधक नहुने स्पष्ट पारे। नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा।डा। धनेश्वर नेपालले सङ्गठन हटाउने प्रयासमा धम्की र आक्रमण खेप्नुपरेको गुनासो गरेपछि प्रधानमन्त्रीले सुरक्षा समस्या भए तुरुन्त आफ्नो सचिवालय वा सम्बन्धित मन्त्रालयमा खबर गर्न निर्देशन दिए।
उनले आवश्यक सुरक्षा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा।डा। दीपक अर्यालले विद्यार्थी तथा कर्मचारी सङ्गठनहरू क्रमशः निष्क्रिय बन्दै गएको जानकारी दिए भने केही विश्वविद्यालयका उपकुलपतिले आङ्गिक क्याम्पसहरूमा अझै तनाव रहेको बताए।
