स्मार्टफोनको माग र प्रयोगमा उल्लेख्य वृद्धि: ९ महिनामा भित्रिए ३४ अर्बका मोबाइल

काठमाडौं । नेपाली बजारमा पछिल्लो समय स्मार्टफोनको माग र प्रयोगमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ९ महिनामा स्मार्टफोन आयात अघिल्लो वर्षको तुलनामा ह्वात्तै बढेको छ।

यस अवधिमा गत आव सोही अवधिभन्दा ८९ हजार २ सय ९३ थान बढी स्मार्टफोन नेपाल भित्रिएका छन्। विभागको तथ्यांक अनुसार चालु आव ९ महिनामा ३३ अर्ब ८२ करोड २५ लाख ८५ हजार रुपैयाँ बराबरका १६ लाख ७४ हजार २ सय ४९ थान स्मार्टफोन आयात भएको छ। जबकि, गत आव सोही अवधिमा २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार बराबरका १५ लाख ८४ हजार ९ सय ५६ थानमात्र मोबाइल भित्रिएका थिए।

चालु आव चैतमा मात्रै पनि ३ अर्ब ८८ करोड ६६ लाख ३९ हजार रुपैयाँ खर्चिएर १ लाख ४५ हजार ७ सय ५४ थान स्मार्टफोन भिर्त्याइएको थियो।

नेपालमा भित्रिने स्मार्टफोनमध्ये सबैभन्दा ठूलो हिस्सा चीनको छ। चालु आव चीनबाट मात्रै २५ अर्ब ६५ करोड ६२ लाख ७६ हजार रुपैयाँ बराबरका १४ लाख १० हजार ९सय ३५ थान स्मार्टफोन आयात भएको छ।

गत वर्ष सोही अवधिमा चीनबाट १७ अर्ब २६ करोड बराबरका १२ लाख ४७ हजार ५ सय ५८ थान मोबाइल आएका थिए।

चीनपछि नेपालमा धेरै मोबाइल भारतबाट आउने गरेका छन्। यस अवधिमा भारतबाट ७ अर्ब ५९ करोड ४८ लाख ५१ हजार बराबरका २ लाख ५५ हजार ८ सय २० थान स्मार्टफोन भित्रिएका छन्।

स्मार्टफोन आयातमा आएको यो वृद्धिले सरकारको राजस्व संकलनमा पनि सकारात्मक प्रभाव पारेको छ। चालु आव ९ महिनामा मोबाइल आयातबाट मात्रै सरकारले ६ अर्ब ३० करोड ८७ लाख ६१ हजार बराबर राजस्व संकलन गर्न सफल भएको छ।

अघिल्लो वर्ष सोही अवधिमा भने यस शीर्षकबाट ४ अर्ब ७३ करोड १५ लाख ८७ हजारमात्र राजस्व उठेको थियो।