सुकुम्वासीप्रति सरकारले निरंकुश चरित्र देखायो: हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्तीहरूमा डोजर चलाएर गरिब जनतालाई बेघर बनाउन लागेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार बेलुकासम्म सुकुम्वासी बस्तीहरु खाली गर्न भन्दै प्रहरीले निर्देशन नै दिएपछि अध्यक्ष साम्पाङले विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कदम संविधानको बर्खिलाप भएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले यस्ता गतिविधि रोक्न माग गरेका छन् । उनले भनेका छन्, ‘हाल सरकारले देशका विभिन्न स्थानहरुमा रहेका सुकुमवासी बस्तीहरुमा गरीब जनताका बासस्थान भत्काइरहेको घटना ९संविधानको धारा ३७ को उपधारा १ को बर्खिलाप हुने गरीको घटना० प्रति खेद प्रकट गर्दै त्यस्ता गतिविधि अविलम्ब रोकी उचित क्षतिपूर्तिसहित उचित पुनर्बास र व्यवस्थापन गरेर मात्रै सरकार अघि बढोस् भन्ने सुझाव दिन्छौं ।’
सरकारले निरंकुश चरित्र देखाएको आरोप उनले लगाएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘जनताको घर भत्काउनु, जनतालाई बेघर बनाउनु, लछारपछार गर्नु, गालीगलौज गर्नु, लाठी बुट, बन्दुक देखाएर तर्साउनु र राज्य आतंक मच्चाउनुले ९संविधानको धारा १६ को उपधारा १ को बर्खिलाप हुने गतिविधिले सरकारको निरंकुश चरित्र देखाएको छ ।
यस्ता घटनाले लोकतन्त्रको मूल्य मान्यतालाई पनि लत्याएको अध्यक्ष साम्पाङको टिप्पणी छ।
