सम्पत्ति छानबिन आयोग अवैध भन्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग अवैध रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ता डा.प्रेमराज सिलवालले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन्। सरकारले २०६२/६३ सालदेखि हाल २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न गत वैशाख ३ गते आयोग गठन गरेको थियो।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा गठित आयोगलाई कामकारबाही गर्न रोक लगाउन रिटमा माग गरिएको छ । उक्त रिटमा बुधबार सुनुवाइको पेसी तय भएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।

सर्वोच्चका पूर्वन्यायाधीश भण्डारीको अध्यतामा गठित आयोगका सदस्यहरूमा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल छन्। रिटमा उत्प्रेषणको आदेशद्वारा आयोग गठनको निर्णय खारेज गर्न तथा तत्काल कामकारबाहीमा रोक लगाउन अन्तरिम आदेशको माग छ।