बुद्धले मानव जातिलाई शान्ति र आनन्दतर्फ डोर्याए: राष्ट्रपति पौडेल
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले २५७०औँ बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बौद्ध दर्शनका प्रवर्तक तथा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी र सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
उनले वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेको विशेष तिथिका रूपमा विश्वभर बुद्ध जयन्ती मनाइने उल्लेख गरेका छन्। यस दिन गुम्बा, विहार,मठ,स्तूप र चैत्यमा पूजा,प्रार्थना,ध्यान तथा प्रवचनजस्ता कार्यक्रममार्फत बुद्धप्रति श्रद्धा व्यक्त गरिने गरिएको छ।
राष्ट्रपति पौडेलले लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म भएको स्मरण गर्दै उनका उपदेशले मानव जातिलाई शान्ति र आनन्दतर्फ डोर्याएको उल्लेख गरेका छन्। बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको पनि उनले बताएका छन्।
उनले बुद्धका प्रेरणादायी उपदेशलाई आत्मसात् गर्दै धार्मिक,सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकता सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।
सन्देशमा राष्ट्रपति पौडेलले बुद्धका कालजयी शिक्षाबाट प्रेरणा लिएर विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान अझ मजबुत बनाउन आग्रह गरेका छन्।
