अन्तर्राष्ट्रिय श्रमिक दिवसमा लेखक–पत्रकार केन्द्रको ऐक्यबद्धता,वर्गसंघर्ष तीव्र भएको विश्लेषण

काठमाडौं। आज विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै गर्दा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले श्रमजीवी मजदुरहरूप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले जारी गरेको वक्तव्यमा मे १ लाई आधुनिक मजदुर आन्दोलनको ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको अधिकार स्थापित भएको उपलब्धिलाई उल्लेख गरिएको छ। उक्त अधिकार स्थापना हुनु अघि मजदुरहरूले दैनिक १५–१६ घण्टा काम गर्नुपर्ने बाध्यता रहेको पनि वक्तव्यमा जनाइएको छ।

वक्तव्यमा वर्तमान विश्व व्यवस्थामा श्रमजीवी वर्ग अझै पनि आर्थिक शोषण र उत्पीडनबाट पूर्ण रूपमा मुक्त हुन नसकेको उल्लेख गर्दै पुँजीवादी संरचनाले विभिन्न सुविधा र ट्रेड युनियनवादका माध्यमबाट मजदुर आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाइएको छ।

केन्द्रले अहिलेको समयलाई साम्राज्यवाद र सर्वहारा वर्गबीचको तीव्र वर्गसंघर्षको युगको रूपमा व्याख्या गर्दै श्रमजीवी वर्गको पूर्ण मुक्ति वैज्ञानिक समाजवाद हुँदै वर्गविहीन र राज्यविहीन समाज निर्माणपछि मात्र सम्भव हुने धारणा अघि सारेको छ।

ऐतिहासिक दिवसको अवसरमा केन्द्रले विश्व सर्वहारा आन्दोलनप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै श्रमजीवी वर्गलाई एकताबद्ध हुन आह्वान गरेको छ।

यस्ताे छ वक्तव्य

आज संसारभरका श्रमजीवी मजदुरहरुले १३७ आौं अन्तरास्ट्रिय श्रमिक मजदुर  दिवस धुमधामका साथ मनाउन गइरहेका र संसारभर आज सम्पूर्ण मजदुरहरुलाई सरकारले विदा दिइरहेका छन् । आधुनिक मजदुर आन्दोलनको इतिहासमा आजको दिन अर्थात् मे १ एक ऐतिहासिक दिन हो । आजकै दिन सन १८८९ मे १ का दिन श्रमजीवी मजदुरहरुले ८ घण्टा काम , ८ घण्टा मनोरञ्जन र बाँकी ८ घण्टा आराम गर्न पाउने अधिकार प्राप्त गरेको दिन हो । त्यस ऐतिहासिक दिनदेखि श्रमजीवी मजदुरहरुले उत्सवका रुपमा मनाउन थालेका थिए । त्यो भन्दा पहिले मजदुरहरुले पुँजीपतिहरुको कारखानामा १५/ १६ घण्टा काम गर्नु पर्थ्यो ।

  ऐतिहासिक अवसरमा विश्वभर क्रियाशील क्रान्तिकारी पत्रकार तथा लेखकहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले १३७ आौं अन्तरास्ट्रिय श्रमिक मजदुर  म दिवस प्रति ऐक्यबद्धता जाहेर गर्दछ ।

  आजको साम्राज्यवाद र विश्व सर्वहारा वर्गबीचको भीषण वर्गसंघर्षको युगमा श्रमजीवी मजदुरहरु वर्गीय रुपमा पुँजीपतिवर्गद्वारा भइरहेको आर्थिक शोषण , उत्पीडनबाट मुक्त छैनन् । ट्रेडयुनियनवादका नाम सत्ता टिकाउने बहनामा पुँजीपति वर्गले विविध प्रकारका छुट दिएर मजदुरहरुका बीचमा भ्रम फैलाएर मजदुर आन्दोलनलाई कम्जोर पार्ने षड्यन्त्र गर्दै आइरहेका छन् र श्रमजीवी मजदुरहरुले पूर्णरूपमा मुक्ति प्राप्त गर्न सकिरहेका छन् । 

  आज विश्व सर्वहारा क्रान्ति जारी छ । वैज्ञानिक समाजवाद हुँदै वर्गबिहिन , राज्यविहिन समानतामूलक वैज्ञानिक साम्यवादी नौलो संसारको निर्माण पछि मात्र श्रमजीवी मजदुरहरुले पूर्णरूपमा मुक्ति पाउने भएकाले आज उनीहरूसंग विश्व सर्वहारा क्रान्तिमा लामबध्द हुनुको विकल्प छैन । आजको यस ऐतिहासिक दिनमा हाम्रो प्यारो संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र पनि यही प्रतिबधाता जाहेर गर्दछ । धन्यवाद ।

                क्रान्तिकारी अभिवादन सहित ।

                            १ मे २०२६

                      १८ बैशाख २०८३ 

                                                                                                                                           ( हस्तबहादुर केसी )

                                                                                                                                               अध्यक्ष 

                                                                                                                         अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र 

                                                                                                                            केन्द्रीय कार्यालय काठमाडौं , नेपाल