सुनसरीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते
विराटनगर । सुनसरीको छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी र दुहबीमा सवारी दुर्घटना हुँदा दुई जना पुरुषको मृत्यु भएको हो । एक जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार इटहरी उप–महानगरपालिका १७, पकलीस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं.१–०२–००२ स ६६९५ नम्बरको पानी बोक्ने सिटी सफारी दुर्घटना हुँदा चालक इटहरी– १८ बस्ने २५ वर्षीय बिकल चौधरीको मृत्यु भएको हो । सोही ठाउँका २६ वर्षीय उमेश श्रेष्ठ गम्भीर घाइते छन्।
दुर्घटनामा दुवै जनाको टाउकोमा गम्भीर चोट लागेकाले उपचारका लागि विराट टिचिङ अस्पताल पठाइएको थियो । उपचारकै क्रममा चालक बिकल चौधरीको शुक्रबार राति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना तीव्र गतिका कारण भएको प्रारम्भिक अनुमान छ।
सुनसरीको दुहबी नगरपालिका–२ स्थित तुथाहामा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। इनरुवाबाट दुहबीतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ११११ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा अन्दाजी ५० वर्षीय पुरुषको ज्यान गएको हो । मृतकको पहिचान खुलेको छैन ।
दुर्घटनालगत्तै प्रहरीले घाइतेलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको थियो । चिकित्सकले राति करिब १० बजे मृत घोषणा गरेका थिए।
प्रहरीले बस र बस चालक मोरङ विराटनगर महानगरपालिका-११ बस्ने ३० वर्षीय मुकेश सहनी र सह-चालक सुनसरी इनरुवा नगरपालिका–३ का २४ वर्षीय सागर चौधरीलाई नियन्त्रणमा लिएको छ।
दुवै घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
