लिपुलेकबारे भारतको जवाफ: एकतर्फी धारणा बनाउनु अस्वीकार्य

काठमाडौं । नेपालको परराष्ट्र मन्त्रालयले आइतबार साँझ लिपुलेक मुद्दामा भारत र चीनलाई कूटनीतिक माध्यमबाट आफ्नो धारणा सार्वजनिक विषयप्रति भारतले आफ्नो प्रतिक्रिया दिएको छ।

नेपालले आफ्नो धारणा सार्वजनिक गरेपछि भारतीय विदेशी मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले नेपालको धारणा ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको बताएका छन्।

लिपुलेक भङ्ज्याङ हुँदै सन् १९५४ देखि कैलाश मानसरोवर यात्राका लागि भारतले प्रयोग गर्दै आएको दीर्घकालीन मार्ग भएको उनले बताए। उनका अनुसार यस मार्गबाट यात्रुहरू दशकौँदेखि आवतजावत गर्दै आएका छन् र यो कुनै नयाँ विकास नभएको बताए ।

भारतले एकतर्फी रूपमा भूभागबारे नेपालले धारणा बनाउनु अस्वीकार्य रहेको बताएको छ। साथै, भारतले नेपालसँग द्विपक्षीय सम्बन्धका सबै विषयमा विशेष गरी सीमासम्बन्धी बाँकी रहेका मुद्दाहरू समाधान गर्न संवाद र कूटनीतिक माध्यमबाट रचनात्मक वार्ताका लागि आफू खुला रहेको जनाएको छ।