पार्टीगत सक्रियता बढाउँदै ओली-आज गुण्डुमा सुदूरपश्चिमका ११ सांसदसँग छलफल गर्ने

काठमाडौं। केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका एमाले सांसदहरूलाई आज गुण्डुमा बोलाएर महत्वपूर्ण छलफल गर्दै छन्। बिहान ११ बजे हुने बैठकमा प्रदेशका ११ सांसद सहभागी हुनेछन्।

पछिल्लो समय संसदीय दलको नेता परिवर्तनको विषय उठेपछि केही सांसदहरूले ओलीसँग भेटघाट गरेका थिए। त्यसपछि ओलीले सामूहिक छलफलमार्फत मात्रै निर्णय लिने संकेत दिएका थिए। आजको बैठकमा यही विषय मुख्य एजेन्डाका रूपमा उठ्ने तयारी छ, यद्यपि तत्कालै नेतृत्व परिवर्तन हुने वा नहुने टुङ्गो भने लागिसकेको छैन।

दलको नेता परिवर्तनको माग गर्दै तीन जना सांसदले केही समयअघि शीर्ष नेताहरूसँग परामर्श गरेका थिए। तर नयाँ नेतृत्व कसलाई दिने भन्ने विषयमा भने सांसदहरूबीच अझै सहमति बन्न सकेको छैन। उपनेता सन्तोष शर्मा थापा र प्रमुख सचेतक चक्र मल्ल नेतृत्वको दौडमा देखिएका छन् भने धर्म पाठक र सुरेन्द्र पालले पनि अवसर पाए जिम्मेवारी लिन तयार रहेको जनाएका छन्।

बैठकमा नेतृत्वको विषयसँगै सत्ता सहकार्य र मन्त्री हेरफेरको मुद्दा पनि छलफलमा रहनेछ। विशेषगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग सहकार्यको सम्भावना र त्यसको सुरुवात सुदूरपश्चिमबाट गर्ने विषयमा नेतृत्व तहमा छलफल भइरहेको छ।

त्यस्तै, प्रदेश सरकारमा रहेका मन्त्रीहरूको कार्यकाल दुई वर्ष नाघिसकेको भन्दै केही सांसदहरूले मन्त्री हेरफेरको माग उठाएका छन्। आगामी बजेटअघि नै निर्वाचन घोषणा हुन सक्ने आकलनका बीच मन्त्री परिवर्तनको विषय पनि बैठकमा उठ्ने बताइएको छ।

हाल सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री छन्। सबै सांसद काठमाडौं आइसकेका छन् बैठकका एजेन्डा औपचारिक रूपमा भने सार्वजनिक गरिएको छैन।